

एकाबिहानै देशभर वर्षा, तीनदिनसम्म हावाहुरी र चट्याङ पर्ने सम्भावना

काठमाडौं – काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ३ बजेतिरदेखि ४ घण्टासम्म काठमाडौँसहितका स्थानमा वर्षा भएको हो ।
महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार वर्षा गराउने मौसम प्रणाली भारतको दक्षिणी क्षेत्र हुँदै वाग्मती प्रदेशमा आइपुगेको छ । यसकै असरले अहिले वाग्मतीसहित, प्रदेश २, प्रदेश १ लगायतका क्षेत्रमा वर्षा भएको उनले बताइन् ।
यो प्रणाली गण्डकी प्रदेश हुँदै अन्यत्र पनि विस्तार हुने उनले बताइन् । प्रिमनसुनको समय भएकाले हावाहुरी र चट्याङको सम्भावना पनि कायमै रहेको उनले बताएकी छन् ।
यस्तो छ आगामी तीन दिनको पूर्वानुमान
वैशाख ९ गते (बिहीबार)
देशभर आँशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ । देशभर पहाडी भू-भागहरुमा आँशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
वैशाख १० गते (शुक्रबार)
देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आशिक देखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भूभागहरुमा आँशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरुमा आँशिक बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
वैशाख ११ गते (शनिबार)
देशभर आँशिकदेखि सामान्य बदली रही वाग्मती प्रदेश , सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।

