

कांग्रेसको विश्लेषण: ओली सरकार ढाल्न तीन दलबीच सहमति नजिक, जसपा दुई धारमा

काठमाडौं – नेपाली काँग्रेसले माओवादी केन्द्र र जसपासँगको वार्ता फलदायी भएको दाबी गरेको छ । सो पार्टीले माओवादी केन्द्र र जसपासँगको निरन्तरको वार्ता फलदायी भएकाले उल्लेख गर्दै अबको केही दिनभित्रै मुलुकको राजनीतिले कोल्टे फेर्ने विश्लेषण गरेको छ ।
काँग्रेसको पूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारीको बुधबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा देउवाले ओली सरकार ढाल्न तीन दलबीच सहमति नजिक रहेको र अबको केही दिनमै राजनीतिले कोल्टे फेर्ने ब्रिफिङ गरेका थिए ।
बैठकपछि पार्टीका एक शीर्ष नेताका उनका अनुसार देउवाले आफ्नो नेतृत्वमा छिट्टै सरकार बन्ने ब्रिफिङ गरेका थिए । उनले बैठकमा भनेका थिए, ‘चिजको विकास निकै क्लियर भइसक्यो । केही दिनमै अब राजनीतिले कोल्टे फेर्दैछ । निरन्तरको छलफल फलदायी बन्दै छ ।’
जसपाको एउटा समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सघाउने अडान लिँदै आएपनि देउवाले अन्तिम सो पार्टीमा संकट आउन सक्ने भन्दै बैठकमा बताएका छन् । बैठकमा सहभागी स्रोतका अनुसार जसपा विभाजित हुन सक्ने देउवाको भनाइ थियो ।
देउवाले नेकपा माओवादीले ओली सरकारलाई दिँदै आएको समर्थन छिट्टै फिर्ता लिने पनि बताएका थिए ।

