

सभामुख सापकोटा ‘फरार अभियुक्त’

काठमाडौं– सभामुख अग्नी सापकोटा प्रहरीको ‘फरार अभियुक्त’को सूचीमा रहेका छन्। १६ बर्षअघि काभ्रेमा अर्जुन लामा हत्या प्रकरणमा उनीविरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले सापकोटालाई फरार अभियुक्तको सूचीमा राखेको हो।
१६ वैशाख ०६२ मा लामालाई अपहरण गरी सोही बर्षको असार महिनामा सापकोटाको निर्देशनमा हत्या गरिएको किटानी जाहेरी २६ असार ०६४ काभ्रे प्रहरीमा मृतक पत्नी पूर्णीमाया लामाले दिएकी थिइन्। तर प्रहरीले दर्ता गर्न मानेको थिएन।
सर्वोच्च अदालतको २७ फागुन ०६४ को परमादेशपछि मात्र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थियो।
जिल्ला प्रशासन कार्यालयको पत्र, सर्वोच्च अदालतको आदेशका आधारमा सापकोटाविरुद्ध जाहेरी दर्ता लिन बाध्य भएको प्रहरीले उनलाई नभेटेको प्रतिवेदन पटक–पटक दिँदै फरार अभियुक्तको सूचीमा राखेको थियो।
सर्वोच्च अदालतमा परेको रिट निवेदनमा पनि उनलाई फरार अभियुक्त भनी उल्लेख गरिएको छ। जुन प्रकरणमा संवैधानिक इजलाशमा सापकोटाविरुद्धको मुद्दामा बुधबार पेशी तोकिएको छ।
सुशील प्याकुरेल, कपिल श्रेष्ठ, कनकमणि दिक्षित, गोपाल सिवाकोटी, सुवोध प्याकुरेल, चरण प्रसाई, मन्दिरा शर्मा र सुनिल रंजन सिंहले संयुक्त रुपमा हालेको रिट निवेदनमा सभामुख सापकोटालाई फरार अभियुक्तका रुपमा चित्रण गरिएको छ।
उक्त रिट निवेदनसँगै प्रमाणका रुपमा निवेदकले ‘फरार अभियुक्त मन्त्री’ भनी हिमाल खबरले प्रकाशित गरेको समाचारलाई पनि पेश गरेको थियो। रिट निवेदन दर्ता भएका बेला सापकोटा तत्कालिन प्रधानमन्त्री झलनाथ खनाल सरकारमा सञ्चार मन्त्री थिए।
उक्त रिट निवेदनमा खनाल, सापकोटा, तत्कालिन गृहमन्त्री कृष्णबहादुर महरा, नेपाल सरकार, जिल्ला प्रहरी कार्यालय काभ्रेलाई पनि विपक्षी बनाइएको थियो।

