विदेशबाट फर्किएका युवा अदुवा खेतीमा


स्याङ्जादेशमा रोजगारी नभएको भन्दै धेरै युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएको बेला केही युवा भने वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् ।

विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्रै भएको भन्दै रोजगारीका लागि विदेशिएका युवा पछिल्लो समय कृषिमा पेशातर्फ आकर्षित हुन थालेका छन् ।

गल्याङ नगरपालिका९ साङलिया रिपका ३० वर्षीय दीपक राना विदेशको रोजगारीलाई छाडेर अहिले आफ्नै खेतबारीमा रमाउन थालेका छन् । दुबई र कतारमा गरी पाँच वर्ष बिताएका रानाले विदेशमा श्रम बढी गर्नुपर्ने तर श्रमअनुसारको पारिश्रमिक नपाएपछि नेपाल फर्किएर गत वर्षदेखि आफ्नै पाखो बारीमा अदुवाखेती शुरु गरेको बताए । रानाले भने, ‘विदेशमा गएर गर्ने मेहनत हामीले हाम्रै पाखापखेरामा गर्यौँ भने त्यहाँभन्दा धेरै कमाउन सकिन्छ । हामीले आफ्नै देशमा पसिना बगाउने बानी बसाउनु पर्छ, विदेश भन्ने कुरा क्षणिक समयको लागि मात्रै रहेछ ।

गत वर्ष छ रोपनी जमिनमा अदुवाखेती गरेका रानाले यस वर्ष ३० रोपनीमा अदुवा लगाएका छन् । अघिल्लो वर्ष छ रोपनी जमिनमा लगाएको अदुवाखेतीबाट रु दुई लाख आम्दानी भएको बताउँदै रानाले भने, ‘यो वर्ष बजारभाउ राम्रो पाएमा रु २० लाख बराबरको कारोवार गर्ने लक्ष्य राखेको छु । तीस रोपनी बाँझो जमिनमा खनजोत गरेर लगाएको अदुवाले यस वर्ष राम्रो आम्दामी दिनेमा राना ढुक्क छन् । गत वर्ष छ रोपनी जमिनमा मात्रै अदुवाखेती गरेका उनले पहिलो वर्षमा नै राम्रो उत्पादन भएपछि १८ रोपनी जग्गा भाडामा र आफ्नो १२ रोपनी गरी ३० रोपनी बाँझो जमिनमा अदुवाखेती गरेका हुन् । गाउँघरमा बाँझो रहेको जमिनको सदुपयोग हुनुका साथै भिरालो जमिनमा समेत अदुवाखेती लगाएर सजिलै आम्दानी लिन सकिने र अन्य खेतीलाई बाँदरले खाए पनि यसलाई बाँदरले पनि नखाने भएकाले अदुवाखेतीमा लागेको रानाले बताए । नगरपालिकाले समेत व्यावसायिकरूपमा कृषि गर्नेलाई अनुदान उपलब्ध गराएपछि आफूलाई थप हौसला मिलेको रानाले बताए । अदुवासँगसँगै बाख्रापालनसमेत गरेका उनले रु ३०÷४० हजार कमाउनका लागि विदेशिन नपर्ने बताए

प्रतिक्रिया