

समर्थन फिर्ताबारे माओवादी केन्द्र अलमलमा, स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (बुधबार) पनि बस्दै छ । नेता नारायणकाजी श्रेष्ठका अनुसार कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने छ ।
मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा विभिन्न विषयको कार्यसूची बनाएर छलफल भइरहेको छ । केपी ओली नेतृत्वको वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे नेकपा माओवादी केन्द्रमा अलमल देखिएको छ । नयाँ सरकार गठनका लागि स्पष्ट खाका तयार नभएकाले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिलाइ गरेको हो ।
आजको बैठकमा विधान संशोधन, संगठनात्मक कार्यदलको काम, आगामी केन्द्रीय समितिको बैठक, वर्तमान सरकारविरुद्ध नयाँ सरकार गठन, सरकारबाट समर्थन फिर्ता र विविध विषयमा कार्यसुची तय गरेको उनको भनाइ छ ।
आजको उक्त विषयमाथि थप छलफल गरी निर्णयमा पुग्ने श्रेष्ठले बताए ।

