प्रचण्ड प्रभाव सिध्याउन ओलीले गरेका हुन् ‘राम’ राजनीति, यस्ता छन् सतहमा देखिएका विवरण


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमीका विषयलाई राजनीतिक भाषण मात्र नभएर क्रियाकलापमा रुपमा नै अगाडि बढाएका छन्।

मंगलबार सरकारी निवास बालुवाटारमा राम सीताका मूर्ति पुजा गरी अयोध्यापुरी चितवनमा पठाइएको छ। उक्त मूर्ती राम नवमीका दिन स्थापना गरिनेछ।

राजनीतिक जीवनको ६ दशकका दौरान प्रधानमन्त्री ओलीले राम राजनीतिलाई गत बर्षदेखि नै व्यापक बनाएका छन्। यहि प्रकरणमा उनी गएको बर्ष भारतीय संस्थापनसँग रुष्ट भए र उनको ठूलो आलोचना भएको थियो।

यहाँसम्मकी भारतीय साधु सन्तले उनको पुत्ला दहन गरे भने त्यहाँका मिडियाले ओलीको बदख्याँई गरेका थिए, विभिन्न शीर्षकमा। उनले अयोध्या भारतमा नभएर नेपालको चितवन ठोरीमा रहेको भनी व्यापक गरिदिए।

किन सुरु गरे राम राजनीति?

गत बर्षको भानु जयन्तीका दिन ओलीले अयोध्या नेपालमा रहेको भनी दाबी गर्दैगर्दा त्यसबेलाको पार्टी नेकपाका नेताले सत्ता गिराउन खोजेको आरोप लगाएका थिए। उनले स्पष्ट भनेका थिए,‘भारतसँग मिलेर मेरो सरकार गिराउने तयारी भएको छ। हाम्रै पार्टीका नेता लागेका छन्।’

यसपछि भित्रभित्र मात्र रहेको ओली र पुष्पकमल दाहाल प्रचण्डको चिसिएको सम्बन्ध सतहमा देखियो। बालुवाटारमा भएको स्थायी समिति बैठकमा प्रचण्डले भनिदिए– भारतले होइन, मैले राजीनामा माग गरेको हुँ।

राम राजनीतिले भारत यसै रुष्ट थियो। भारतीय संस्थापन ओलीको बहिर्गमन पनि चहान्थ्यो। तर प्रधानमन्त्री पद र सरकार टिकाउनका लागि ओलीले भारतीय गुप्तचर निकायका प्रमुख सामन्त गोयललाई बालुवाटार बोलाएर सम्बन्ध सुधार गरेका थिए।

यद्यपि उनले राम राजनीतिलाई जारी राखे। अबको प्रयोग भने उनले प्रचण्डविरुद्ध गर्न थालेका थिए र छन्।

उनले अयोध्या नेपालमा छ भनी भारतलाई चिढ्याएर अप्ठ्यारो पारे जस्तै अहिले चितवनमा प्रचण्डको निर्वाचन क्षेत्रमा रहेको भनी धार्मिक आस्थालाई उपयोग गरेका ठान्छन् कतिपय नेता।

निर्वाचन क्षेत्रमा रहेको अयोध्यापुरीको विषयमा ओलीले खेलेको राम राजनीतिले प्रचण्डलाई पनि राम जन्मभूमीबारे बारम्बार बोल्न बाध्य तुल्याएको छ। उनले निर्वाचन क्षेत्रमा दुई पटक पुग्दा भनेका छन्,‘राम जन्मभूमी भए त म भन्दा खुसी कोही हुँदैन, यो प्रमाणित हुनुपर्छ।’

प्रचण्डको राजनीतिक जीवनलाई नै असर गर्नका निम्ति ओलीले राम वाण चलाएको स्पष्ट हुन थालेको छ। त्यसको पहिलो प्रति उत्तर दिँदा दाङ पुगेर ओलीले भनेका थिए,‘राम जन्मेको भन्ने पौराणिक मान्यता र खोजले पुष्टि हुन्छ, अब कौशल्यासँग मै सुडेनी थिएँ भनेर पत्याउने? सुडा सुडेनी खोज्न जाऔं?’

प्रचण्डमाथि निरन्तर प्रहार

प्रचण्डले बितेका केही महिनामा ओली जुनसुकै हालतमा आफ्नो राजनीतिलाई तेजोबोध गर्न लागि परेको बताउँदै आएका छन्। वास्तवमा ओलीका प्रायः राजनीतिक कदम र भाषणले पनि त्यसलाई पुष्टि गरिरहेको छ।

नेकपाभित्र विभाजनअघि र एमाले माओवादी ब्युँतिएपछि पनि ओलीले प्रचण्डलाई केन्द्रविन्दुमा राखेर प्रहार गरिरहेको देखिन्छ। राजनीतिक विश्लेषकहरू भन्छन्,‘ओलीले आलोपालो सहमतिअनुसार प्रधानमन्त्री पनि छाडिदिएनन्, कार्यकारी अध्यक्ष बनाए पनि त्यसबेला पार्टीमा आफैं सक्रिय रहे। १९ बुँदे ल्याउन प्रचण्डलाई बाध्य पारिदिए।’

प्रचण्डसँगको आन्तरिक विवादको चरम उत्कर्षको परिणामका रुपमा नै अहिलेको अवस्था आएको स्पष्ट चित्र देखिन्छ। यसको सुरुआत राम राजनीतिबाट नै भएको सतहमा देखिएका विवरणले पुष्टि गर्छ।

प्रतिक्रिया