

चार मन्त्री पाएपछि लुम्बिनीमा जसपाको ‘यू टर्न’, नवनियुक्त मन्त्रीले आजै सपथ लिने

लुम्बिनी — लुम्बिनी प्रदेश सरकारमा चार जना नयाँ मन्त्री थपिने भएका छन् । अविश्वासको प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गरेको जनता समाजवादी पार्टी (जसपा) ‘यू’ टर्न गर्दै पोखरेल नेतृत्वको सरकारमा सामेल हुने निर्णय गरेको छ ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको दुई घण्टा नबित्दै जनता समाजवादी पार्टी (जसपा) का सांसदहरू पोखरेल नेतृत्वको सरकारमा सहभागी हुने भएका हुन् । जसपाका सांसदहरू विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्न लागेको स्रोतले बतायो । ती मध्ये केहीलाई आजै सपथको तयारी गरिएको पनि स्रोतले जनाएको छ ।
माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागेका हुन् ।
अविश्वासको प्रस्तावपछि सोमबार नै माओवादीका आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले पदबाट राजीनामा दिएका थिए ।

