अविश्वास प्रस्ताव दर्ता भए प्रधानमन्त्री ओलीविरुद्ध ‘फ्लोर क्रस’ गर्न सक्ने यी हुन् २६ एमाले सांसद


काठमाडौं– नेकपा एमालेभित्र समानान्तर गतिविधि गरिरहेको माधवकुमार नेपालसहित उनको समूहका २६ सांसदले ‘फ्लोर क्रस’ गर्ने प्रयोजनका लागि हस्ताक्षर संकलन गरेको खुलेको छ।

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरे २६ जनाले लिखित रुपमा नै साथ नदिनेगरी हस्ताक्षर संकलन गरेका हुन्।

प्रधानमन्त्री पदबाट ओलीलाई हटाउनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालबीच कोटेश्वरमा भएका चरणबद्ध वार्तामा सहमति भएको थियो। सोही सहमतिका आधारमा सोमबार नै स्थायी समितिको बैठक राखी माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गर्ने भएको थियो।

तर प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधि सभाको अधिवेशन सोमबार दिउँसोदेखि नै अन्त्य भएपछि माओवादी केन्द्रले स्थायी समिति बैठक स्थागन गरी छलफल र वार्ता चलाउन सुरु गरेको छ।

५ पुसमा प्रतिनिधि सभा विघटनको सिफारिस गरेका ओलीविरुद्ध मैदानमा उत्रिएका नेपाल पक्षका सांसदले नै हस्ताक्षर गरेका छन्। नेपालसहित, झलनाथ खनाल, भिम रावलदेखि रामकुमारी झाँक्रीसम्मको हस्ताक्षर संकलन भएको छ।

अन्य सांसदको समेत हस्ताक्षर संकलन हुने बताइएको छ। खासगरी उक्त हस्ताक्षर पछि पार्टी विभाजनका लागि पनि प्रयोजन गरिन सक्ने अनुमान गरिएको छ। केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशतको संख्या पुराएको खण्डमा पार्टी विभाजन गर्न सकिने संवैधानिक प्रावधान रहेको छ।

स्रोतका अनुसार झलनाथ खनाल, माधवकुमार नेपाल, योगेश भट्टराई, पवित्रा निरौला, भवानी खापुङ, यज्ञराज सुनुवार, गणेशकुमार पहाडी, नारायणप्रसाद खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडाको हस्ताक्षर संकलन गरिएको छ।

यस्तै, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डेय, घनश्याम भुसाल, मेटमणि चौधरी, राजबहादुर बुढा क्षेत्री, ध्रुवकुमार शाही, भिम रावल, यज्ञबहादुर बोगटी, झपट रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, मायादेवी न्यौपाने र लक्ष्मीकुमारी चौधरीको पनि हस्ताक्षर संकलन भएको छ।

प्रधानमन्त्रीको कुर्सीबाट ओलीलाई जसरी पनि उतार्ने पूर्वघोषणाका आधारमा नै हस्ताक्षर संकलन भएको उच्च स्रोतले अनलाइनन्युजलाई बतायो।

प्रतिक्रिया