इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु


भक्तपुर – इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु भएको छ । वर्षौँदेखिको यो परम्परा हराउन थालेपछि धेरै वर्षपछि चाँगुनारायण नगरपालिकास्थित लाखेडोलबाट पूजाअर्चना गरी लाखे निकालिएको हो ।

इन्द्रजात्राका लागि लाखे निकाल्ने परम्परा हराउन थालेपछि भक्तपुरका रञ्जितकार समाजले लाखेनाच निकाल्न सुरु गरेको हो । खरिपाटीदेखि कमलविनायक हुँदै गोलमढीस्थित लाखे द्यो छेसम्म लाखेनाच देखाइएको हो । नेवार समुदायको सांस्कृतिक परम्परा, धार्मिक आस्था र ऐतिहासिक किंवदन्तीसँग जोडिएको यो जात्रा भक्तपुरमा विशेष महत्वका साथ मनाउने गरिन्छ । सिम्रौनगढका राजा हरिसिंहदेव तथा तलेजु भवानीसँग जोडिएको ख्वपः लाखेको इतिहास रहेको बताइन्छ ।

तेह्रौँ शताब्दीतिर बङ्गाली मुस्लिम शासक गयासुद्दिन तुगलकको आक्रमणपछि सिम्रौनगढबाट पलायन भएका हरिसिंहदेव भक्तपुरतर्फ आउँदा बाटोमै निधन भएको र उनकी रानी देवलदेवी तथा राजकुमार जगतसिंहदेव भक्तपुर आइपुगेको संस्कृतिकर्मी गोपालराज जोशीले जानकारी दिए ।

सिम्रौनगढबाट तान्त्रिक विधिबाट भक्तपुर ल्याइएको तलेजु भवानीसँगै लाखे पनि आएको मान्यता रहेको बताउँदै उहाँले तलेजु भवानीको गण तथा रक्षकका रूपमा लाखेलाई लिइने भएकाले भक्तपुरको लाखे परम्परालाई तलेजु संस्कृतिसँग जोडेर हेर्ने गरिएको बताए । लाखे तलेजु भवानीको रक्षक गण तथा असल चरित्रको भएको निष्कर्षपछि केही शर्तसहित नगर प्रवेशको अनुमति दिइएको किंवदन्ती रहेको र येन्या पुन्हीका दिन लाखेले राजमाता इन्द्रायणीसँगै भक्तपुर नगर परिक्रमा गरेको तथा इन्द्रसिद्धि विनायकको छत्रछायामा रहने परम्परा बसेको जनविश्वास रहेको उनको भनाइ छ ।

लाखेनाच यही असोज ८ गते पुनः देखाउँदै भक्तपुर नगर परिक्रमा गराइने भएको छ ।

प्रतिक्रिया