
सर्वोच्चप्रति मलाई विश्वास छ रुख र चारतारे झण्डा हामीले नै पाउँछाैंः देउवा
काठमाडौं – नेपाली कांग्रेसभित्र विशेष अधिवेशनलाई लिएर विवाद चर्किरहेका बेला पूर्वसभापति शेरबहादुर देउवाले आफू पार्टी सभापति रहेकै अवस्थामा आफ्नो जानकारीबिनै विशेष अधिवेशन बोलाइएको दाबी गरेका छन्।
बीपी जयन्तीका अवसरमा नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले बुधबार आयोजना गरेको कार्यक्रममा देउवाले विशेष अधिवेशनका प्रतिनिधिको विधिवत् सनाखत हुनुपर्ने बताए। आफूलाई जानकारी नै नदिई विशेष अधिवेशन बोलाइएको उनको गुनासो थियो।
उनले भने, ‘विशेष अधिवेशनमा बोलाइएका व्यक्तिहरूको सनाखत हुनुपर्छ। अहिले पार्टी सभापति म छु, मलाई थाहै छैन। विशेष अधिवेशन बोलाइदिनेभन्दा खेरी हुन्छ दाइ, विचार गर्छु भन्दाभन्दै बोलाइदिए।’
सर्वोच्च अदालतले निर्वाचन भइसकेको भन्दै तत्काल हस्तक्षेप नगरे पनि आफूहरूले पुनरावलोकनका लागि निवेदन दिएको उनले बताए। गगन थापालाई कांग्रेस सभापतिको मान्यता दिने निर्णयविरुद्ध पुनरावलोकनमा जान सर्वोच्चले निस्सा दिएको उल्लेख गर्दै देउवाले यसलाई आफ्नो पक्षको ठूलो सफलता भएको बताए।
‘निस्सा दिएपछि हाम्रो आधाभन्दा बढी विजय भइसकेको छ,’ उनले भने।
देउवाले सर्वोच्च अदालतप्रति आफूलाई पूर्ण विश्वास रहेको पनि बताए। पञ्चायतकालदेखि नै अदालतले आफूहरूलाई न्याय दिएको स्मरण गर्दै उनले राजा ज्ञानेन्द्र शाहको शासनकालमा समेत सर्वोच्च अदालतले आफूलाई बचाएको दाबी गरे।
देउवाले अन्ततः नेपाली कांग्रेसको रुख चिन्ह र चारतारे झण्डा आफूहरूले नै पाउने विश्वास व्यक्त गरे।
‘सर्वोच्च अदालतप्रति मलाई विश्वास छ। यिनीहरूले जतिसुकै धाए पनि सर्वोच्च अदालतको मलाई विश्वास छ। जसरी निष्पक्ष रूपमा हामीलाई निस्सा दिएको छ, त्यस्तै रुख चिन्ह, चारतारे झण्डा नेपाली कांग्रेसको हामीले पाउने छौँ भन्ने विश्वास लिएको छु। मलाई विश्वास छ, जतिसुकै जे गरे पनि सर्वोच्चले न्याय दिनेछ,’ उनले भने।



कागजपत्र |
