नवनियुक्त गृहमन्त्री बादलले सम्हाले पदभार (फोटोफिचर)


काठमाडौं – नवनियुक्त गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सपथलगतै गृह मन्त्रालयमा पुगेर पदभार सम्हालेका छन्। पदभार सम्हाल्दै उनले जनअपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता जनाए।

विकास र सम्बृद्धि होस् भन्ने जनचाहना स्थिरता र स्थायित्वबाट मात्र सम्भव हुने भन्दै उनले त्यसका लागि काम गर्ने बताए। बादलले पदभार सम्हाल्दै गर्दा गृहसचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुखलगायतको उपस्थिति रहेको थियो।

आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले बादललाई गृहमनत्रीमा नियुक्त गरेकी थिइन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले बादललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन्।

बादलले दौरा सुरवालमा सजिएर पद तथा गोपनियताको सपथ लिएका थिए।

नेकपा (माओवादी केन्द्र) परित्याग गरेर एमालेमा समाहित भएसँगै राष्ट्रियसभा सदस्य र मन्त्री पद गुमाएका ‘बादल’लाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुनः गृहमन्त्रीमा नियुक्त गरकी हुन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि एमालेमा समाहित भएका बादलको सासंद पद रिक्त गराउन माओवादी केन्द्रले संघीय संसद् सचिवालयलाई लिखित पत्र दिएको थियो।

संसद् सचिवालयले आइतबार बिहान बादलको सांसद पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको थियो। गृहमन्त्री बादल माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए।

प्रतिक्रिया