

माओवादीले सरकारबाट समर्थन फिर्ता लिने, चन्द्रलालको घरमा बन्यो ‘फ्लोर क्रस’ सहमति!

काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गर्ने भएको छ।
सोमबार स्थायी समिति बैठकले समर्थन फिर्ताको निर्णय लिँदै संसद सचिवालयलाई जानकारी गराउने तयारी माओवादी केन्द्रले गरेको छ। यसपछि प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसबेला कर्णाली प्रदेशमा जस्तै प्रतिनिधि सभामा ओलीविरुद्ध एमालेका माधव नेपाल पक्षले ‘फ्लोर क्रस’ गर्ने सहमति प्रचण्डसँग भइसकेको बताइएको छ।
कोटेश्वरस्थित चन्द्रलाल श्रेष्ठको घरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपालबीच कर्णाली प्रदेशमा जस्तै फ्लोर क्रस गर्ने सहमति भएको बताइन्छ।
माओवादीले नैतिक रुपमा सरकारलाई समर्थन नरहेको बताए पनि प्राविधिक रुपमा रहेको जनाउँदै आएको छ। नेपाली कांग्रेस, जनता समाजवादीलगायतका दलले समर्थन रहेका बेला नै विकल्पमा छलफल हुने वा अविश्वासको प्रस्ताव दर्ता गर्न नसकिने बताएपछि माओवादीले फिर्ता लिन लागेको हो।
‘हामी लिखित रुपमा नै समर्थन फिर्ता लिएको जानकारी अन्य दललाई दिनेछौं, हामी लिखित रुपमा नै सरकारको नेतृत्व दाबी गर्दै अविश्वासको प्रस्ताव तयार पार्ने ग्यारेन्टि खोजिरहेका थियौं’, माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका छन्।
उता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आइतबार माओवादीले समर्थन गरेको बहुमतको सरकारविरुद्ध नलाग्ने बरु समर्थन फिर्ता भए मात्र अग्रसर हुन सकिने बताएका थिए।

