बादलको बढुवा!


काठमाडौं– राष्ट्रियसभा सदस्य पद खारेज भएसँगै गृहमन्त्रीबाट पदमुक्त भएका एमाले बागमती इञ्चार्ज रामबहादुर थापा ‘बादल’ बढुवासहित सरकारमा सहभागी हुने सम्भावना रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई उपप्रधानमन्त्रीसहित पुनः गृहमन्त्रीको जिम्मेवारी दिने तयारी गरिरहेको उच्च स्रोतले बतायो।

राष्ट्रियसभा सदस्य पद खारेज भएको सूचना संसद सचिवालयले जारी गरेलगत्तै प्रधानमन्त्री ओली र बादलबीच बालुवाटारमा २ घण्टा भेटवार्ता भएको थियो। बादललाई उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी दिने विषयमा उनीहरुबीच छलफल भएको स्रोतको दावी छ।

आइतबार साँझ अर्थात आज बादलले पुनः गृहमन्त्रीको सपथ लिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। एमाले नेताको हैसियतमा बादललाई प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा पुनर्नियुक्ति गरी सपथ गराउन लागेका छन्।

सांसद नभएका व्यक्ति ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था रहेको छ। यही व्यवस्थाअनुसार बादल उपप्रधानसहित पुनः गृहमन्त्री बन्ने भएका हुन्।

२३ फागुन २०७८ मा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता रहेका थापा एमालेमा प्रवेश गरेका थिए। २०७४ सालमा थापा नेकपा माओवादी केन्द्रको कोटाबाट गृहमन्त्री भएका थिए।

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र संसद सचिवालयलाई बुझाएको थियो। सोही अनुरुप आजै सचिवालयले बादलको पद रिक्त भएको सूचना जारी गरेको थियो।

२८ फागुनमा बालुवाटारमा केन्द्रीय समितिको बैठक राखी एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले बादललगायतलाई पार्टीमा जिम्मेवारी दिँदै महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए।

प्रतिक्रिया