विदा स्वीकृत नगरी सिपाहीलाई घर पठाएर राशनमा सशस्त्र एसपी सुवेदीको रजगज


काठमाडौं– सशस्त्र प्रहरी बल नेपाल रक्तकाली गण सुर्खेतका एसपी दिग्विजय सुवेदीले गणमा कार्यरत कर्मचारीहरुलाई स्वीकृत नगरेको विदामा घर पठाएर मासिक लाखौ रुपैंया अनियमितता गरेको खुलेको छ।

कर्मचारीलाई यसरी पठाउँदा भरिने फारममा मिति उल्लेख नहुने र विदाबाट फर्केपछि विदा पठाउन अघि भरेको फारमलाई अभिलेखमा नराखि सुवेदीले नष्ट गर्दै आएका छन्।

उपल्ला निकायहरुबाट निरिक्षणका लागि टोली आए विदा स्वीकृत गर्ने र नआए विदामा पठाएका कर्मचारीहरु गणमै रहेको विवरण देखाएर राशनको रकम आफूले लिने गरेका छन्।

गणका ‘जुनियर’ कर्मचारीहरुले यस विषयमा बाहिनी तथा मुख्यालयमा उजुरी गरेको भए पनि सुनुवाई हुन नसकेको आरोप छ।

अनलाईन न्युजलाई प्राप्त बाहीनिलाई सम्बोधन गरेर पठाइएको उजुरीमा गणका जुयिनर कर्मचारीहरुलाई एसपी सुवेदी आफैंले निवास तथा कार्यकक्षमा बोलाएर विदामा बस्न लगााने तथा भनेको नमाने कारबाहीको धम्की दिने उल्लेख छ।

म आईजीपीको मान्छे, स्टाफ कलेज पनि पास गरि सकेको र भविष्यको आईजीपी पनि आफू नै भएको बताउँदै उनले महिनामा औसत एक सय ५० जना कर्मचारीहरुलाई स्वीकृत नगरेको विदामा घर पठाएर ५ लाख बढी रकम बुझ्ने गरेका छन्।

रक्तकाली गण मातहत पछिल्लो समयमा सल्यान तथा दैलेखका अस्थायी गुल्म तथा सुर्खेतकै विभिन्न ‘बेस’हरुमा मान्छे पठाएर दुई सय ५० को हाराहारीमा जनशक्ति बाँकी रहने गरेको भए पनि सोही जनशक्तिबाट उनले अस्वीकृत विदामा घर पठाउने गरेका हुन्। सुर्खेतमा सशस्त्र प्रहरी बलका कर्मचारीको मासिक राशन भत्ता पाँच हजार छ।

गत वर्षको माघमा सुर्खेत बाहीनिबाट अनुगमनका लागि टोली आएको भए पनि एसपी सुवेदीले बाहीनिबाट आएको टोलीलाई समेत मिलाएर अझ बढी कर्मचारीहरुलाई घर पठाउन थालेको पीडित कर्मचारीहरुको गुनासो छ।

‘छानबिन होला भनेर उजुरी गरेका थियौं तर हाम्रो उजुरीको सुनवाई भएन’, पीडित एक कर्मचारीले भने । एसपी सुवेदी सशस्त्र प्रहरी भित्र आर्थिक रुपले बदनाम अफिसर भने हुन् ।

गत वर्ष बारामा रहँदा लक डाउनको समयमा जगदम्बा स्टीलमा तीन सयबढी भारतीय मजदुरहरुलाई मोटो रकम लिएर अवैध रुपमा नेपाल छिराएपछि समय अगाबै तानिएका थिए भने डिएसपी हुँदा भर्ना छनौट शाखामा बसेर परिचर तथा सिपाही भर्नामा उनले रकम असुलेको आरोप समेत एसपी सुवेदीमाथि छ ।

एसपी दिग्विजय सुवेदीले भने कर्मचारीहरुले लगाएको आरोपमा सत्यता नभएको दाबी गरे। ‘कँही कतै केही त्रुटी होलान् तर विदा स्वीकृत नगरी कर्मचारीलाई विदामा पठाएको खबर सोह्रै आना झुटो हो’, उनले भने।

प्रतिक्रिया