
डोल्पाको गैरीगाउँमा पसेको बाढीमा परि महिलाको मृत्यु, ६ जना घाइते
काठमाडौं- डोल्पामा बाढीले बगाउँदा एकजना महिलाको मृत्यु भएको छ। जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा शनिबार राति आएको बाढीले बगाउँदा स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निरन्तरको वर्षासँगै धुलाखोला तथा आसपासका खहरेमा आएको हिलोमाटोसहितको बाढी आज बिहान करिब ३ बजे गाउँमा पसेको थियो।
बाढीमा परेर घाइते भएकी आनन्दीको उद्धार गरी उपचारको क्रममा स्वास्थ्य चौकीमा लैजाँदा गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिए।
उक्त बाढीमा परी अन्य ६ जना घाइते भएका छन्। घाइते हुनेमा सोही गाउँका अन्दाजी ५० वर्षीय चाउरी विक, ४४ वर्षीय रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीय निरुता विक, १३ वर्षीय सीता विक र ६५ वर्षीय जस विक रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरुको स्थानीय झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइतेमध्ये रेउलीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रेफर गरिएको छ।
स्थानीयका अनुसार बाढीले करिब १५/१६ मिटरसम्म बगाएको थियो, जसका कारण घाइतेहरुको ढाड, टाउकोलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ।
प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकको कमान्डमा थप पाँच जना, नेपाली सेनाको १० जना र सशस्त्र प्रहरीको बल ११ जना बिहानै घटनास्थलतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन्। बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा थप उद्धार र राहतको कार्य जारी रहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
