
५,३०२ औषधि पसलको दर्ता प्रमाणपत्र खारेज
काठमाडौं- औषधि व्यवस्था विभागले देशभरका ५ हजार ३०२ वटा औषधि पसल तथा फार्मेसीहरूको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको जनाएको छ। विभागले मंगलबार सूचना जारी गर्दै कानुनले तोकेको समयभित्र नवीकरण प्रक्रिया पूरा नगरेका पसलहरूको दर्ता खारेज भएको जानकारी दिएको हो।
विभागका अनुसार नवीकरणको म्याद समाप्त भएका र निर्धारित अवधिभित्र नवीकरण नगरिएका औषधि पसलहरूको दर्ता प्रमाणपत्र (अनुसूची–९) स्वतः रद्द भएको हो।
यो व्यवस्था औषधि ऐन, २०३५ को दफा ११ मा गरिएको संशोधन तथा सोही दफाको उपदफा (५) बमोजिम लागू भएको विभागले जनाएको छ। संशोधित व्यवस्थाअनुसार औषधि उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्रको अवधि र नवीकरणसम्बन्धी प्रावधान कडाइका साथ कार्यान्वयन गरिएको छ।
विभागले जेठ २८ गतेसम्म नवीकरण म्याद समाप्त भई स्वतः रद्द भएका औषधि पसलहरूको सूचीसमेत सार्वजनिक गरेको छ। कानुनी व्यवस्थाअनुसार खारेजीसम्बन्धी जानकारी सम्बन्धित व्यक्ति, संस्था तथा सरोकारवालालाई उपलब्ध गराउनुपर्ने भएकाले सूचना प्रकाशन गरिएको विभागको भनाइ छ।
दर्ता प्रमाणपत्र रद्द भएका पसलहरूले अब कानुनी रूपमा औषधि पसल सञ्चालन गर्न नपाउने विभागले स्पष्ट पारेको छ।
यसैबीच, विभागले सबै औषधि पसल सञ्चालकलाई आफ्नो प्रमाणपत्रको अवस्था यकिन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। साथै औषधि बिक्री–वितरण गर्दा प्रचलित कानुनी व्यवस्था तथा विभागीय निर्देशनको पूर्ण पालना गर्न पनि निर्देशन दिएको छ।
विभागले कानुनी मापदण्ड पूरा नगरी औषधि व्यवसाय सञ्चालन नगर्न र जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा लापरबाही नगर्न सम्बन्धित सबैलाई सचेत गराएको छ।



कागजपत्र |
