कतारविरूद्ध ६-० ले विजयी हुँदै समूहको शीर्षस्थानमा पुग्यो क्यानडा


काठमाडौं – फिफा विश्वकप २०२६मा क्यानडाले ९ खेलाडीमा समेटिएको कतारलाई आधा दर्जन गोल हानेको छ।

भ्यान्कुभरको बीसी प्लेस स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली क्यानडाले कतारमाथि ६–० को फराकिलो र ऐतिहासिक जित दर्ता गरेको हो क्यानडाको यस एकपक्षीय जितमा स्टार स्ट्राइकर जोनाथन डेभिडले उत्कृष्ट ह्याट्रिक गरे।

क्यानडाले खेलको सुरुवाती मिनेटदेखि नै कतारलाई पूर्ण दबाबमा राखेको थियो। खेलको १६औँ मिनेटमा सायल लारिनले गोल गर्दै क्यानडाको खाता खोलेका थिए। त्यसपछि जोनाथन डेभिडले २९औँ मिनेट गोल गर्दै अग्रतालाई दोब्बर बनाए। कतारका होमाम अहमदले ३३औँ मिनेटमा रेडकार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा सीमित बन्यो। पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमै टोलीलाई ३–० को बलियो स्थितिमा पुर्‍याए।

दोस्रो हाफमा कतार ९ खेलाडीमा समेटियो। कतारका असिम मादिबो ५१औँ मिनेटमा अर्को रेडकार्ड खाँदै मैदान बाहिरिएपछि कतार दबाबमा पर्‍यो। दोस्रो हाफमा पनि क्यानडाको गोल गर्ने क्रम रोकिएन।

६४औँ मिनेटमा नेथन सालिबाले टोलीका लागि चौथो गोल थपे। खेलको ७५औँ मिनेटमा कतारका मोहमद मनइले आत्मघाती गोल गरेपछि क्यानडा ५–० ले अघि बढ्यो।

खेलको निर्धारित समय सकिनै लाग्दा जोनाथन डेभिडले आफ्नो व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र क्यानडालाई ६–० को विशाल जित दिलाए। जितपछि क्यानडा समूह बीको शीर्ष स्थानमा उक्लिएको छ।

 

प्रतिक्रिया