फार्महाउसको आवरणमा लागुऔषध कारोबार, काठमाडौंबाट १३ जना पक्राउ


काठमाडौँ-  फार्महाउस सञ्चालनको आवरणमा लागुऔषध कारोबार गर्दै आएको आरोपमा प्रहरीले १३ जनालाई ठूलो परिमाणको लागूऔषधसहित पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरका अनुसार पक्राउ परेकाहरू ट्रामाडोललगायतका लागूऔषधको अवैध कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूले काठमाडौंको टोखा र चन्द्रागिरि क्षेत्रमा फार्महाउस सञ्चालन गर्दै भारतबाट ल्याइएको लागूऔषध परिसरभित्र खाडल खनेर लुकाउने तथा मागअनुसार बजारमा बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

ब्युरोका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार असार २७ देखि ३१ गतेसम्म सञ्चालन गरिएको निगरानी तथा कारबाहीका क्रममा विभिन्न जिल्लाका १३ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरू नुवाकोट, रूपन्देही, भक्तपुर, सिन्धुली, कालीकोट, बाजुरा, बारा, पर्सा र काठमाडौंका बासिन्दा रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट दुई लाख नौ हजार क्याप्सुल ट्रामाडोल तथा दुई हजार चार सय एम्पुल बुप्रेनोर्फिन, डाइजोपाम र फेनारगन बरामद गरेको जनाएको छ।

त्यसैगरी नगद सात लाख ८७ हजार पाँच सय रुपैयाँ र विभिन्न कम्पनीका २८ थान मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया