
ट्रकको ठक्करबाट सशस्त्र सहायक हवल्दारको मृत्यु, जवान घाइते
बर्दिया — ट्रकको ठक्करबाट एक सशस्त्र सहायक हवल्दारको मृत्यु भएको छ भने एक जवान गम्भीर घाइते भएका छन् ।
नेपालगन्जबाट गुलरियातर्फ आइरहेको बा.प्र. ०३–००१ ख १४१२ नम्बरको ट्रकको ठक्करबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरीका सहायक प्रहरी हवल्दारको तिलक कँडेलको मृत्यु भएको छ भने जवान दिपककुमार जंग शाह घाइते भएका छन्।
आइतबार बिहान साढे ५ बजे अवैध रूपमा भारत लैजान लागिएको दुई भैंसी र एक पाडालाई नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरिया लैजाने क्रममा गुलरिया नगरपालिका–११ स्थित हुलाकी सडक खण्डको लालपुरमा उक्त घटना भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका गणेशपुरमा कार्यरत सहायक हवल्दार कडेलको जिल्ला अस्पताल बर्दियामा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महतले बताए।
त्यस्तै घाइते भएका सशस्त्र जवान शाहलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहोराले ट्रक र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको बताए। उक्त ट्रक गुलरियास्थित टायल उद्योगतर्फ जाँदै गरेको थियो।



कागजपत्र |
