कैलालीमा वन कर्मचारीले भीरबाट टेम्पो फालेपछि धनादेवीको रोजीरोटी संकटमा


कैलाली – कैलालीको गोदावरी नगरपालिका–४ बासपानीमा वन कार्यालयका कर्मचारीले एउटा टेम्पो भीरबाट खसालेको घटना यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ । शनिबार भएको घटनाको भिडियो सार्वजनिक भएपछि सर्वसाधारणदेखि सांसदसम्मले वन कर्मचारीहरूको व्यवहारप्रति प्रश्न उठाएका छन् ।

घटनामा गोदावरी नगरपालिका–४ बासपानीकी ४४ वर्षीया धनादेवी धामीको टेम्पो भीरबाट खसालिएको हो । धामीका अनुसार उक्त टेम्पो नै उनको परिवारको जीविकोपार्जनको प्रमुख आधार थियो । उनले घर नजिकै भीमदत्त राजमार्ग अन्तर्गत गाइमारे डाँडास्थित सडक छेउमा टेम्पो राखेर चिया, अण्डा, चाउचाउ, पानी लगायतका दैनिक उपभोग्य सामग्री बिक्री गर्दै आएकी थिइन् ।

डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले वन क्षेत्र अतिक्रमण गरेको आरोप लगाउँदै टेम्पो हटाउने क्रममा भीरबाट खसालिदिएको धामीको आरोप छ । उनका अनुसार कर्मचारीहरूले टेम्पोमा रहेका सामान पहिला झारेका थिए र त्यसपछि टेम्पोलाई धकेलेर भीरतर्फ खसालिएको थियो ।

“बरु टेम्पो घर लैजान्छु, अबदेखि यहाँ सामान बेच्न आउँदिन भनेर धेरै हारगुहार गरेँ,” धामीले भनिन्, “तर कसैले मेरो कुरा सुनेनन् । कर्मचारीहरूले टेम्पो धकेलेर भीरबाट खसालिदिए । वरिपरि धेरै मानिस थिए, सबैले भिडियो खिचे तर कसैले पनि रोक्ने प्रयास गरेनन् ।”

धामीका अनुसार उक्त टेम्पो उनका छोराले करिब एक वर्षअघि किनिदिएका थिए । हाल उनका तीनै छोरा भारतको बैंगलोरमा मजदुरीका लागि गएका छन् । घरमा उनी, उनका श्रीमान् र जेठी बुहारी मात्र बस्दै आएका छन् ।

“चिया, अण्डा, चाउचाउ, पानी बेचेर दिनको चार–पाँच हजार रुपैयाँसम्मको कारोबार हुन्थ्यो,” उनले भनिन्, “त्यही आम्दानीले घरखर्च चलिरहेको थियो ।”

यद्यपि धामीले टेम्पोलाई नियमित सवारी साधनका रूपमा प्रयोग नगरेको स्वीकार गरेकी छन् । आफू र श्रीमान्लाई टेम्पो चलाउन नआउने बताउँदै उनले आवश्यक पर्दा छिमेकीको सहयोगमा टेम्पो घर ल्याउने वा त्यही स्थानमा राखेर घर फर्कने गरेको बताइन् ।

“मलाई टेम्पो चलाउन आउँदैन । कुनै दिन त्यहीँ छाडेर घर जान्थेँ, कुनै दिन छिमेकीलाई चलाइदिन आग्रह गरेर घर ल्याउँथेँ,” उनले भनिन् । टेम्पो कति मूल्यमा किनिएको थियो भन्नेबारे भने आफूलाई जानकारी नभएको उनको भनाइ छ ।

उता वन कार्यालयले भने घटनालाई वन अतिक्रमण हटाउने अभियानको नियमित प्रक्रिया अन्तर्गत भएको दाबी गरेको छ । सब–डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख कृष्ण बोहराका अनुसार उक्त टेम्पो यसअघि पनि हटाइएको थियो ।

“यो चलायमान अवस्थामा रहेको सवारी साधन थिएन,” बोहराले भने, “कवाडी अवस्थामा रहेको टेम्पोलाई छाप्रोका रूपमा प्रयोग गरेर पसल सञ्चालन गरिएको थियो ।”

वन कार्यालयका अनुसार वन क्षेत्र अतिक्रमण हटाउने अभियान अन्तर्गत हालसम्म ४७ वटा संरचना हटाइसकिएको छ । तर टेम्पो हटाउने क्रममा अपनाइएको तरिकाबारे भने व्यापक प्रश्न उठ्न थालेका छन् । धेरैले टेम्पोमा कैफियत देखिएको भए नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाउनुपर्नेमा भीरबाट खसाल्नु उचित नभएको टिप्पणी गरेका छन् ।

घटनापछि चर्को आलोचना खेपिरहेको डिभिजन वन कार्यालय कैलालीले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो बचाउ गरेको छ । कार्यालयले जारी गरेको विज्ञप्तिमा घटनालाई अतिरञ्जित गरिएको दाबी गर्दै टेम्पो जानाजान भीरबाट नखसालिएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “मिति २०८३ जेठ २९ गते पुनः अतिक्रमण हटाउने अभियान सञ्चालन भइरहेको अवस्थामा वन टोलीले गुडाउन नमिल्ने अवस्थामा रहेको टेम्पोलाई बल प्रयोग गरी पन्छाउन खोजेको थियो । सोही क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण कवाडी टेम्पोको अस्थिपञ्जर अनियन्त्रित भई दुर्घटनावश भीरबाट खस्न पुगेको हो ।”

तर सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो र प्रत्यक्षदर्शीहरूको प्रतिक्रियापछि वन कर्मचारीहरूको कार्यशैली, राज्य संयन्त्रको संवेदनशीलता तथा गरिब नागरिकप्रतिको व्यवहारबारे गम्भीर बहस सुरु भएको छ । घटना सम्बन्धी थप छानबिन र जिम्मेवारी निर्धारणको माग समेत उठ्न थालेको छ ।

प्रतिक्रिया