पृथ्वी राजमार्गमा शौचालय नहुँदा यात्रु समस्यामा, संसदमा उठ्यो आवाज


काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले पृथ्वी राजमार्गमा सार्वजनिक शौचालयको अभावका कारण यात्रुहरूले ठूलो सास्ती भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लामो दूरीको यात्राका क्रममा शौचालय नहुँदा यात्रुहरू बाध्य भएर गाडीबाट ओर्लिएर झाडी वा खुला स्थानतर्फ जानुपर्ने अवस्था रहेको बताइन्।

उनका अनुसार राजमार्ग क्षेत्रमा पर्याप्त सार्वजनिक शौचालय नहुँदा विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी समस्यामा पर्ने गरेका छन्।

सांसद तामाङले यस्तो अवस्थाको अन्त्यका लागि पृथ्वी राजमार्गका प्रत्येक निश्चित दूरीमा अनिवार्य रूपमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने माग गरिन्।

“राजमार्गका प्रत्येक सय मिटरको दूरीमा सार्वजनिक शौचालय निर्माण गरियोस्,” उनले संसदमा भनिन्।

उनले सरकारलाई यात्रुहरूको आधारभूत आवश्यकतालाई बेवास्ता नगर्न र तत्काल व्यवस्थित शौचालय संरचना निर्माणको योजना अघि बढाउन आग्रह गरेकी छन्।

प्रतिक्रिया