प्रधानमन्त्रीको सीमा अभिव्यक्ति फिर्ता नलिएसम्म संसद् अवरुद्ध गर्ने विपक्षीको निर्णय


काठमाडौं-  प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको अभिव्यक्ति नसच्चिएसम्म संसद्मा विरोध जारी राख्ने निर्णय गरेका छन्।

मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति “राष्ट्रघाती” रहेको भन्दै त्यसलाई अविलम्ब फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको हो।

एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरका अनुसार विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मै आएर देशबासीका नाममा सम्बोधन गर्दै माफी माग्नुपर्ने र उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइनुपर्ने अडान राखेका छन्।

बैठकले संसद् सञ्चालनका लागि सरकार पक्षबाट कुनै ठोस पहल नभएको निष्कर्ष निकाल्दै सदन खोल्ने जिम्मेवारी सरकारकै भएको जनाएको छ। यद्यपि सत्तापक्षबाट विभिन्न प्रस्तावहरू आए पनि सर्वपक्षीय बैठकमार्फत समाधान खोज्नुपर्ने धारणा विपक्षीले राखेका छन्।

त्यसैगरी कर दर हेरफेरसम्बन्धी विषयमा पनि गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यसको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्नेमा सबै विपक्षी दल एकमत भएको महरले बताए।

बैठकमा श्रम संस्कृति पार्टी बाहेक प्रतिनिधिसभामा रहेका अधिकांश विपक्षी दलका सांसदहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया