
भिजिट भिसामा आएर अवैध गतिविधि गरेको आरोपमा दुई चिनियाँ पक्राउ
काठमाडौं – काठमाडौंको नक्सालस्थित नारायणचौरबाट दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा चीनको फुजियान प्रान्तका ३३ वर्षीय वाङ वेण्ड र सोही प्रान्तका चेन सुनगुई रहेका छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउपछि दुवै जनालाई अध्यागमन विभागमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरू भिजिट भिसामा नेपाल आएका थिए । तर भिसाको उद्देश्य विपरीत गतिविधि गरेको आरोप उनीहरूमाथि लागेको छ ।
अनुसन्धानका क्रममा उनीहरूले नारायणचौरस्थित आरआउर बिल्डिङमा “एन्ट्रो टेक्नोलोजी” नामक कार्यालय अवैध रूपमा सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ । सो कार्यालयमार्फत विदेशी मोडल तथा युवतीसँग लाइभ च्याट गराउने भन्दै विभिन्न व्यक्तिबाट पैसा असुल्ने, साथी बनाउने तथा बुकिङ गर्ने बहानामा रकम ठगी गर्ने कार्य भइरहेको दाबी गरिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।



कागजपत्र |
