
प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् चल्न नदिने कांग्रेसको चेतावनी
काठमाडौं- नेपाली कांग्रेसका राष्ट्रिय सभा सचेतक पदमबहादुर परियारले प्रधानमन्त्री वालेन्द्र साहले ‘नेपालले पनि भारतका धेरै ठाउँ मिचेको छ’ भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्मा माफी नमागेसम्म बैठक सञ्चालन हुन नदिने चेतावनी दिएका छन्।
मंगलबार राष्ट्रिय सभा बैठक सुरु हुनासाथ बोल्दै उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै संसद्मा उपस्थित भएर स्पष्टीकरण र माफी दिनुपर्ने माग गरे।
परियारले प्रधानमन्त्री साहको अभिव्यक्तिले कूटनीति र राजनीतिसम्बन्धी सामान्य ज्ञानसमेत अभाव रहेको देखाएको दाबी गर्दै यस्तो भनाइ कांग्रेसका लागि कुनै पनि हालतमा स्वीकार्य नहुने बताए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणप्रति पनि असन्तुष्टि व्यक्त गरे। भारत भ्रमणका क्रममा लामिछानेले नेपाल–भारत सम्बन्धको महत्वलाई उचित ढंगले प्रस्तुत गर्न नसकेको उनको आरोप थियो।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई अक्षम्य, आपत्तिजनक र घोर निन्दनीय भन्दै परियारले यसले सरकार प्रमुखको कमजोर राजनीतिक चेत र सीमासम्बन्धी अस्पष्ट धारणा उजागर गरेको टिप्पणी गरे। लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित करिब ३७२ वर्गकिलोमिटर नेपाली भूमि अतिक्रमण भएको विषय सबैलाई थाहा हुँदाहुँदै नेपालले पनि भारतीय भूमि मिचेको छ भन्ने अभिव्यक्ति स्वीकार गर्न नसकिने उनको भनाइ थियो।
उनले सीमा समस्याबारे बेलायतसँग छलफल भइरहेको प्रधानमन्त्रीको दाबीप्रति पनि प्रश्न उठाए। यो सरकारको आधिकारिक धारणा हो वा रास्वपाको धारणा हो भन्ने स्पष्ट पार्नुपर्ने उनको माग थियो।
परियारले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित भएर नेपालले कुन भारतीय भूमि कति क्षेत्रफलमा मिचेको हो भन्ने तथ्य र प्रमाणसहित जानकारी दिन वा आफ्नो अभिव्यक्ति तथ्यहीन र आवेगमा आएर दिएको स्वीकार गर्दै माफी माग्न चुनौती दिए।
‘या त प्रधानमन्त्रीले प्रमाणसहित आफ्नो भनाइ पुष्टि गर्नुपर्छ, या संसद्मै उभिएर आफूले गल्ती गरेको स्वीकार गर्दै माफी माग्नुपर्छ,’ उनले भने।
प्रधानमन्त्रीले यीमध्ये कुनै पनि कदम नचालेसम्म सदनको कारबाही यथास्थितिमा अघि बढ्न नसक्ने चेतावनी दिँदै परियारले सीमाजस्तो संवेदनशील विषयमा प्रमाणबिनै जथाभावी अभिव्यक्ति दिन प्रधानमन्त्रीलाई छुट नभएको बताए।



कागजपत्र |
