
रामकुमारी झाँक्रीको माग– प्रधानमन्त्री बालेनले सार्वजनिक रूपमा माफी मागून्
काठमाडौं – प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा पनि विरोध भएको छ।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्तिका लागि सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेकी हुन्।
सांसद झाँक्रीले भारतले नेपाली भूमि अतिक्रमण गरिरहेको अवस्थामा प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिनु राष्ट्रहितविपरीत भएको टिप्पणी गरिन्।
“नेपालले सीमा मिचेको छ भन्ने अभिव्यक्ति कसको हितमा दिइएको हो ? हामीलाई यसले लज्जाबोध गराएको छ,” उनले भनिन्, “यस्तो अभिव्यक्तिपछि प्रधानमन्त्रीले नेपाली स्वाभिमान, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने प्रश्न उठेको छ।”
उनले भारतले नेपाली भूमि अतिक्रमण गरेको विषय पुरानै रहेको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट नेपाली नागरिकमाथि हुने दुर्व्यवहारको प्रसंगसमेत उठाइन्।
झाँक्रीले सीमा अतिक्रमण मात्र नभई भारतीय सुरक्षाकर्मीबाट नेपालीमाथि कुटपिट हुने गरेको र आनन्द गौतमको हत्या भएको घटनासमेत स्मरण गराउँदै सरकारको ध्यानाकर्षण गराइन्।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा भारतले मात्र नभई नेपालले पनि भारतका केही स्थानमा भूमि मिचेको विषय आफू प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका थिए। उक्त अभिव्यक्तिपछि संसद् र राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया देखिएको छ।



कागजपत्र |
