
प्रधानमन्त्रीले भनाइ नसच्याएसम्म संसद् चल्न नदिने विपक्षी दलहरूको निर्णय
काठमाडौं- प्रतिनिधिसभामा विपक्षी दलहरूले प्रधानमन्त्री वादल (बालेन) शाहले नेपाल–भारत सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति संसद्को रोस्ट्रमबाटै माफी माग्नुपर्ने निष्कर्ष निकालेका छन्।
सोमबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी पाँच दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको हो।
बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने आशयमा दिएको अभिव्यक्ति सार्वभौमसत्ता विपरीत रहेको भन्दै तत्काल सच्याउनुपर्ने माग गरेका छन्। उनीहरूले प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाटै उभिएर आफ्नो भनाइ सच्याउनुपर्ने निष्कर्ष निकालेका हुन्।
कांग्रेस सचेतक निश्कल राईका अनुसार प्रधानमन्त्रीले आफ्नो भनाइ नसच्याएसम्म संसद्को बजेटमाथिको छलफल अघि बढ्न नदिने विपक्षी दलहरूको साझा निर्णय छ।
उनले नेपालले कुनै पनि अवस्थामा भारतको भूमि नमिचेको दाबी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिले नागरिकको भावनामा चोट पुगेको बताए।
बैठकमा लिपुलेक–कालापानीसहित सीमा विवाद र त्यसमा तेस्रो मुलुक (बेलायत) लाई जोड्ने प्रयासलाई पनि विपक्षी दलहरूले गम्भीर कूटनीतिक त्रुटि भनेका छन्।



कागजपत्र |
