
सबै आन्दोलनसम्बन्धी प्रतिवेदन अध्ययन गरी कार्यान्वयन गर्छौँ : प्रधानमन्त्री बाले
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विभिन्न आन्दोलन तथा घटनासँग सम्बन्धित प्रतिवेदनहरूको अध्ययन गरी कार्यान्वयन गरिने बताएका छन्।
प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मानव अधिकार आयोगका प्रतिवेदन कहिले सार्वजनिक हुन्छन् र त्यसअनुसार कारबाही कहिले अघि बढ्छ भन्ने प्रश्न उठाएपछि प्रधानमन्त्री शाहले उक्त प्रतिक्रिया दिएका हुन्। केसीले विशेषगरी भदौ २३–२४ का घटनासम्बन्धी प्रतिवेदन कार्यान्वयनको विषयमा प्रश्न गरेका थिए।
जवाफमा प्रधानमन्त्री शाहले मानव अधिकार आयोगले कुनै एक आन्दोलन मात्र नभई विभिन्न आन्दोलन र घटनासम्बन्धी प्रतिवेदन सरकारलाई बुझाएको उल्लेख गरे।
“मानव अधिकार आयोगले यो आन्दोलनको मात्र होइन, धेरै आन्दोलनका रिपोर्टहरू बुझाएको छ। ती सबै रिपोर्टहरू सरकारले अध्ययन गर्छ र कार्यान्वयन गर्छ,” प्रधानमन्त्री शाहले भने।
यसअघि प्रधानमन्त्री शाह एक्कासि जवाफ दिन रोष्ट्रममा उभिएपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले नियमापत्ति जनाएका थिए।
तर सांसद केसीले नियमावलीबाहिर पनि प्रधानमन्त्रीले जवाफ दिन इच्छा व्यक्त गर्न सक्ने व्यवस्था रहेको उल्लेख गर्दै नियमित प्रक्रियाअनुसार भने प्रधानमन्त्रीले पुनः संसद्को कार्यसूचीमा सहभागी हुनुपर्ने अभ्यास रहेको स्मरण गराएका थिए।



कागजपत्र |
