
स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे
काठमाडौं- स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या छ लाख ७२ हजार ४८९ रहेकामा आर्थिक वर्ष २०८१/८२ मा १० दशमलव नौ प्रतिशतले बढेर सात लाख ४५ हजार ७७० पुगेको हो ।
आर्थिक सर्वेक्षण २०८२/८३ का अनुसार उच्च शिक्षा अध्ययनरत कूल विद्यार्थीमध्ये व्यवस्थापन सङ्कायमा सबैभन्दा बढी ५० दशमलव ५ प्रतिशत छन् भने कृषिमा सबैभन्दा कम शून्य दशमलव १५ प्रतिशत रहेको छ । व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा समाजशास्त्र सङ्कायमा अध्ययनरत विद्यार्थी करिब ८० प्रतिशत रहेका छन् ।
केन्द्रीय/प्रादेशिक विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र विदेशी सम्बन्धनमा नेपालमा सञ्चालित क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये त्रिभुवन विश्वविद्यालयअन्तर्गत आङ्गिकमा ४७ दशमलव नौ र सम्बन्धन प्राप्तमा २७ दशमलव ४ प्रतिशत गरी कूल ७५ दशमलव ३ प्रतिशत छन् । अन्य विश्वविद्यालय/कार्यक्रममा २४ दशमलव १ प्रतिशत विद्यार्थी छन् । सरकारी लगानीका हिसाबले त्रिभुवन विश्वविद्यालयमा ६७ दशमलव ५ प्रतिशत र अन्य विश्वविद्यालय/कार्यक्रममा ३२ दशमलव ५ प्रतिशत लगानी रहेको छ ।
हाल मुलुकमा २०८२ फागुनसम्म १५ केन्द्रीय र छ प्रादेशिक गरी २१ विश्वविद्यालय तथा सङ्घअन्तर्गत छ र प्रदेशअन्तर्गत दुई गरी आठ स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् ।



कागजपत्र |
