ज्वालासहित यी चार जनाले दिए मुख्यमन्त्री शाहीलाई विश्वासको मत, ओलीले फिर्ता लिनुको कारण


काठमाडौं – नेकपा एमाले कर्णाली प्रदेशका चार जना सांसदले फ्लोर क्रस गरेसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगिएको छ। पार्टीको ह्विप उल्लघंन गर्दै एमालेका माधव–झलनाथ पक्षका सांसदले शाहीको सरकार जोगाइदिएका हुन्।

माधव नेपाल पक्षका संयोजक समेत रहेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री शाहीको सरकार जोगाइदिएका हुन्। ज्वाला शाही सरकारमा अर्थमन्त्री थिए भने बुढा मन्त्री थिए।

कर्णालीमा माधव नेपाल पक्षका ९ सांसद छन्। कालीकोटका कुर्मराज शाही र दैलेखका अम्बरबहादुर थापा मन्त्रिपरिषदमा समेटिनेछन्।

नेकपा एमालेकै सांसद देवी ओलीले सुरुमा विश्वासको मतको पक्षमा दिएको मत सच्याइन्। विश्वासको मतमा अधिक भएपछि ओलीले सच्याएकी हुन्। उनी प्रदेश सभाको एउटा समितिकी सभापति हुन्।

विश्वासको मत लिन राखेको प्रस्तावमा शाहीले २२ मत प्राप्त गरेको सभामुख राजबहादुर शाहीले बताए। ३९ प्रदेश सभा सदस्य रहेको कर्णालीमा मुख्यमन्त्रीको लागि २० मत आवश्यक थियो। नेपाली काँग्रेसको समर्थनमा २२ मत प्राप्त गरेका हुन्।

राप्रपाकी एक जना सांसद शोशिला शाही भने विश्वासको मत प्रक्रियाका बेला बाहिर निस्केका कारण भित्र छिर्न पाइनन्।

प्रदेश सभामा सभामुखबाहेक एमालेका १९, माओवादीका १२ र कांग्रेसका ६ सांसद छन्।

प्रतिक्रिया