आज आईपीएल क्वालिफायर–१, आरसीबी र गुजरात भिड्दै


धर्मशाला-  इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत आज हुने पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलुरू (आरसीबी) र गुजरात टाइटन्स (जीटी) आमनेसामने हुँदैछन् ।

लिग चरणमा समान १८ अंक भए पनि राम्रो रनरेटका आधारमा बैंगलुरू शीर्ष स्थानमा रहँदा गुजरात दोस्रो भएको थियो । आजको खेलको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायर खेल्नुपर्नेछ ।

धर्मशालामा हुने खेलमा वर्षाको सम्भावना उच्च रहेको बताइएको छ । मौसम विभागका अनुसार खेलका क्रममा करिब ८० प्रतिशत वर्षा हुने सम्भावना छ ।

आईपीएलमा प्लेअफ प्रणाली लागू भएयता क्वालिफायर–१ जित्ने टोलीले धेरैपटक उपाधि जितेकाले आजको खेललाई निकै महत्वपूर्ण मानिएको छ ।

हेड–टु–हेड रेकर्डमा आरसीबी र गुजरात बराबरीमा छन् । दुई टोलीबीच हालसम्म आठ खेल हुँदा दुवैले चार–चार खेल जितेका छन् । यस सिजनमा पनि दुवैले एक–एक खेल जितेका छन् ।

बैंगलुरूको मुख्य शक्ति आक्रामक ब्याटिङ मानिएको छ । विराट कोहली ५५७ रनसहित टोलीका सर्वाधिक स्कोरर रहेका छन् । कप्तान रजत पाटीदार र देवदत्त पडिक्कलले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । बलिङमा जोश हेजलवुड र भुवनेश्वर कुमार टोलीका प्रमुख हतियार बनेका छन् ।

यद्यपि आरसीबीको मध्यक्रम पछिल्ला खेलहरूमा कमजोर देखिएको छ । विशेषगरी विदेशी खेलाडी ज्याकब बेथेल अपेक्षाअनुसार प्रदर्शन गर्न संघर्षरत छन् ।

गुजरात टाइटन्सको बलियो पक्ष भनेको फास्ट बलिङ र शीर्षक्रमको ब्याटिङ हो । कप्तान शुभमन गिल, साई सुदर्शन र जोस बटलर उत्कृष्ट फर्ममा छन् । सुदर्शन ६३८ रनसहित ओरेन्ज क्यापको दौडमा अगाडि छन् ।

बलिङमा कागिसो रबाडा, मोहम्मद सिराज र प्रसिद्ध कृष्णले विपक्षीलाई दबाबमा राखेका छन् । रबाडाले २४ विकेट लिएर पर्पल क्यापको प्रतिस्पर्धामा स्थान बनाएका छन् ।

तर गुजरातको तल्लो मध्यक्रम भने अस्थिर देखिएको छ । शेर्फेन रदरफोर्ड बाहिरिएपछि ग्लेन फिलिप्स, टम ब्यान्टन, राहुल तेवाटिया र शाहरुख खानले निरन्तरता दिन सकेका छैनन् ।

प्रतिक्रिया