
सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव
काठमाडौं- सुर्तीजन्य पदार्थका कारण बर्सेनि ३९ हजार बढी नागरिकले अकालमै ज्यान गुमाउने गरेको भन्दै सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत सुर्र्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव दिएका छन् ।
नेपालमा हाल सुर्तीजन्य पदार्थमा ४० प्रतिशत मात्रै कर लाग्दै आएको जनाउँदै उनीहरूले विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेअनुसार त्यस्ता पदार्थमा कम्तीमा ७५ प्रतिशत कर लगाउन आग्रह गरे । सुर्तीजन्य पदार्थबाट वार्षिक ३३ अर्ब राजस्व उठे तापनि स्वास्थ्य र उपचारबापतको भार रु ४५ अर्ब बढी रहेको सांसदहरूले जनाएका छन् ।
उनीहरूले सुर्तीजन्य पदार्थबाट ८५ लाख बढी नागरिक आक्रान्त भएको र १४ देखि २४ वर्षसम्मका आठ लाख युवा विद्यार्थी सुर्र्तीजन्य पदार्थको लतमा फसेको दृष्टान्त सुनाए । सांसदहरूले सुर्तीजन्य पदार्थमाथि भारतमा ५८ र बङ्गलादेशमा ७३ प्रतिशत कर लिने गरेको जानकारी दिए ।
सांसद कुशुम महर्जनले सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष नेपालमा ३९ हजारभन्दा बढीले ज्यान गुमाउने गरेको भन्दै आगामी बजेटबाट त्यस्ता पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न माग गरे ।
सांसद गुरुप्रसाद बरालले सुर्तीजन्य पदार्थमा लाग्दै आएको करको दायरा वृद्धि गरी त्यसको प्रयोगमा न्यूनीकरण ल्याउन आग्रह गरे । “सुर्तीजन्य पदार्थमा भारी करवृद्धि गरी यसको प्रयोगमा सङ्कुचन ल्याउन आवश्यक छ”, उनले भने ।



कागजपत्र |
