
स्वास्थ्य मन्त्रालयको बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ
काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत कुल बेरुजु रकम २३ अर्ब ४५ करोड रुपैयाँ रहेको जानकारी सार्वजनिक भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा मन्त्रालयका सचिव डा. विकास देवकोटाले मन्त्रालयको बेरुजु अवस्थाबारे जानकारी दिएका हुन् ।
सचिव देवकोटाका अनुसार हालसम्म कुल बेरुजुमध्ये करिब साढे ४ प्रतिशत रकम फर्स्यौट भइसकेको छ । यससँगै मन्त्रालयको बेरुजु रकम घटेर २२ अर्ब ७० करोड रुपैयाँमा झर्ने उनले बताए ।
उनले खाद्य स्वच्छता विभागसँग सम्बन्धित बेरुजुको यकिन विवरण आउन बाँकी रहे पनि साविकको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बेरुजु अवस्था भने यही रहेको स्पष्ट पारे ।
सचिव देवकोटाले थप १३ प्रतिशतभन्दा बढी बेरुजुको परीक्षण प्रक्रिया अघि बढाइएको जानकारी दिँदै उक्त प्रक्रिया पूरा भएपछि कुल १८ देखि १९ प्रतिशतसम्म बेरुजु फर्स्यौट हुने अपेक्षा गरिएको बताए ।
उनका अनुसार अघिल्ला वर्षहरूमा बेरुजु फर्स्यौटको दर ५० प्रतिशतभन्दा कम रहने गरेको भए पनि चालु आर्थिक वर्षमा भने ६० प्रतिशतसम्म फर्स्यौट गर्ने लक्ष्य मन्त्रालयले लिएको छ ।



कागजपत्र |
