
दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा दुई वटा मुद्दा दर्ता
काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय पर्साले सोमबार प्रसाईंविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता गरेको हो ।
कार्यालयका प्रमुख तथा जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्ताका अनुसार प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ तथा राज्यविरुद्धको कसुरमा मुद्दा दायर गरिएको छ ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले जेठ ८ गते प्रसाईंलाई हिरासतमा राख्न थप म्याद नलिन प्रहरीलाई आदेश दिएको थियो ।
सर्वोच्चले अनुसन्धान सकिएको अवस्थामा मुद्दा दर्ता गर्न र अनुसन्धान अपूरो भए रिहा गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदीपराज पाठकले सर्वोच्च अदालतको आदेशअनुसार अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइएको बताएका छन् ।
प्रहरीले प्रसाईंलाई जेठ ४ गते पक्राउ गरेको थियो । त्यसपछि जेठ ५ गते तीन दिन र जेठ ७ गते थप चार दिन हिरासतमा राख्न म्याद थप गरिएको थियो ।
प्रहरीले प्रसाईंलाई उनका सार्वजनिक अभिव्यक्तिका विषयलाई लिएर पटक–पटक पक्राउ गर्दै आएको छ ।



कागजपत्र |
