
कांग्रेसलाई सशक्त बनाउने उद्देश्यले सुदूरपश्चिम भेला : रमेश लेखक
कैलाली- नेपाली कांग्रेसका नेता रमेश लेखकले सुदूरपश्चिम प्रदेशमा आयोजित पार्टी भेला कुनै प्रकारको विग्रह सिर्जना गर्नका लागि नभएको स्पष्ट पारेका छन्। धनगढीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त भेला पार्टीलाई अझ एकताबद्ध, सुदृढ र संगठित बनाउने उद्देश्यले गरिएको बताए।
नेता लेखकले भने, “यो भेला पार्टीमा विग्रह ल्याउनका लागि होइन। नेपाली कांग्रेसलाई एकताबद्ध गरेर थप संगठित गर्नका लागि हो, थप सुव्यवस्थित गर्नका लागि हो।” उनले कांग्रेसलाई विगतमा जस्तै देशकै ठूलो लोकतान्त्रिक र सशक्त पार्टीका रूपमा कायम राख्न बृहत्तर एकता आवश्यक रहेको उल्लेख गरे।
उनका अनुसार जेन–जी आन्दोलनपछि उत्पन्न विशेष राजनीतिक परिस्थितिमा पार्टी अझ बलियो र एकताबद्ध भएर अघि बढ्नुपर्ने थियो, तर आन्तरिक समस्याका कारण त्यसो हुन नसकेको बताए। उनले भने, “भदौ २३ र २४ को घटनापछि मुलुकमा विशेष अवस्था सिर्जना भयो। त्यस्तो बेलामा कांग्रेस जनताको आशाको केन्द्र बन्नुपर्ने थियो, तर पार्टीभित्र समस्या देखियो।”
लेखकले पार्टीभित्रको असन्तुलन र विगतका घटनाक्रमका कारण निर्वाचनमा अपेक्षित परिणाम आउन नसकेको दाबी पनि गरे।
त्यसैगरी, उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेको भन्दै उहाँप्रति सम्मानको वातावरण बनाउनुपर्ने धारणा राखे।
उनले भने, “देउवाले देशको लोकतान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेल्नुभएको छ। सुदूरपश्चिमका लागि पनि उहाँको योगदान महत्वपूर्ण छ। उहाँको राजनीतिक जीवन सम्मानपूर्वक अघि बढ्नुपर्छ र उहाँको योगदानको उचित मूल्यांकन हुनुपर्छ।”



कागजपत्र |
