
बागमती नदीमा डुबेर सर्लाहीका दुई युवकको मृत्यु
सर्लाही- सर्लाहीमा बागमती नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ। लालबन्दी नगरपालिका–९ बस्तिपुरका १८ वर्षीय रोहित महतो र लालबन्दी–६ ढुकढुकी एफएम टोलका २० वर्षीय गणेश महतोको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार शनिबार पाँच जना साथीहरू घुम्न जाने क्रममा नदी किनार पुगेका थिए। सो क्रममा नदी तर्ने प्रयास गर्दा उनीहरू बगाएका थिए। तीन जना भने पौडिएर सकुशल बाहिर निस्कन सफल भएका थिए भने रोहित र गणेश बेपत्ता भएका थिए।
घटनापछि प्रहरीले राति ८ बजेदेखि खोजी तथा उद्धार कार्य सुरु गरेको थियो। इलाका प्रहरी कार्यालय हरिवन र कर्मैया सहितको टोली परिचालन गरिएको थियो।
आइतबार बिहान सवा १० बजे बागमती नगरपालिका–११ स्थित बागमती पुलभन्दा करिब ५० मिटर उत्तरतर्फ नदीमा रोहित महतोको शव फेला परेको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी दिउँसो साढे १ बजे सोही नगरपालिका–११ स्थित बागमती पुलबाट करिब १ किलोमिटर उत्तरतर्फ ड्याम साइटको पानीमा गणेश महतोको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनामा बाँकी तीन जना—सर्लाहीको बरहथवा नगरपालिका–५ का २८ वर्षीय सहमद मोमिन, २४ वर्षीय मोहम्द अख्तर र ब्रह्मपुरी गाउँपालिका–३ का २० वर्षीय श्याम भण्डारी—सकुशल रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
