
गुटभन्दा माथि उठ्न कांग्रेस नेतृत्वलाई नेविसंघको आग्रह
काठमाडौं- नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिँदै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गरेका छन् ।
पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाउन, नेविसंघको १२औँ महाधिवेशनको मिति तत्काल घोषणा गर्न तथा संगठनलाई सक्रिय र चलायमान बनाउन माग गर्दै उनीहरूले सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा कार्यकर्ताहरूले पार्टी कार्यालयका विभिन्न कक्ष बाहिर प्लेकार्ड टाँसेका थिए । प्लेकार्डमा ‘पार्टी युनिटी फर्स्ट, इगो लेटर’, ‘१२औँ महाधिवेशन सुनिश्चित गर’, ‘युवालाई स्पेस देऊ, पार्टीलाई स्पिड देऊ’ लगायतका नारा लेखिएका थिए ।
धर्नामा सहभागी विद्यार्थी नेताहरूले कांग्रेसभित्रको एकता विद्यार्थी संगठनबाटै सुरु हुनुपर्ने धारणा राखेका छन् । उनीहरूले गुट–उपगुटको राजनीतिभन्दा माथि उठेर संगठनलाई एकताबद्ध बनाउन नेतृत्वले पहल गर्नुपर्ने बताएका थिए ।
नेविसंघलाई लामो समयसम्म निष्क्रिय बनाइराख्नु उचित नभएको उल्लेख गर्दै उनीहरूले समयमै महाधिवेशन सम्पन्न गरी युवापुस्तालाई निर्णायक भूमिकामा अघि ल्याउनुपर्ने मागसमेत गरेका छन् ।



कागजपत्र |
