१० महिनामा नेपालले गर्‍यो १७ खर्बको आयात, निर्यात २ खर्बमाथि


काठमाडौं-  चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले झण्डै १७ खर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने २ खर्बभन्दा बढीको वस्तु निर्यात गरेको छ ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा १६ खर्ब ९२ अर्ब ६४ करोड २६ लाख ४० हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.८२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा नेपालले १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख ९७ हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो ।

त्यस्तै, चालु आवको १० महिनामा नेपालबाट २ खर्ब ४८ अर्ब ९६ करोड २६ लाख ७० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १४.२५ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा २ खर्ब १७ अर्ब ९१ करोड १० लाख ५९ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।

विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै आयात हुने वस्तु डिजेल रहेको छ । नेपालले १ खर्ब ३० अर्ब ९३ करोड ७४ लाख १४ हजार रुपैयाँ बराबरको डिजेल आयात गरेको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, सोही अवधिमा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तु सोयाबिन तेल तथा त्यसको कच्चा पदार्थ रहेको छ । नेपालले १ खर्ब १ अर्ब २६ करोड ८८ लाख १५ हजार रुपैयाँ बराबरको सोयाबिन तेल तथा कच्चा पदार्थ निर्यात गरेको विभागले जनाएको छ ।

यस अवधिमा नेपालले १ खर्ब ६ अर्ब ८२ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको सोयाबिन तेल तथा त्यसको कच्चा पदार्थ, ५८ अर्ब ६३ करोड ९९ लाख १८ हजार रुपैयाँ बराबरको पेट्रोल तथा ४८ अर्ब ५ करोड २२ लाख ३० हजार रुपैयाँ बराबरको फलामको कच्चा पदार्थ आयात गरेको छ ।

निर्याततर्फ नेपालबाट ११ अर्ब ४२ करोड ४४ लाख ४५ हजार रुपैयाँ बराबरको ठूलो अलैँची, ८ अर्ब ४८ करोड ३० लाख ६६ हजार रुपैयाँ बराबरको कार्पेट तथा टेक्सटाइल र ७ अर्ब ४१ करोड १५ लाख ६१ हजार रुपैयाँ बराबरको सूर्यमुखी तेल तथा त्यसको कच्चा पदार्थ निर्यात भएको विभागले जनाएको छ ।

प्रतिक्रिया