
सडकमै पल्टियो ट्रक, कान्तिलोकपथ अवरूद्ध
हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडामा डिब्बा ट्रक पल्टिँदा कान्तिलोकपथ अवरुद्ध भएको छ।
सडकको वारपार भएर ट्रक पल्टिँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान करिब ५ बजे हेटौँडाबाट काठमाडौँतर्फ डाइपर लोड लिएर जाँदै गरेको ना. ६ ख ७२८ नम्बरको ६ चक्के डिब्बा ट्रक सडकमा थुप्रिएको ढुंगामा चक्का चढेपछि अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।
ट्रक सडकमै पल्टिएकाले कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउन सडक विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
ट्रकमा चालकसहित तीन जना सवार रहेका थिए। तीमध्ये दुई जना सामान्य घाइते भएका छन्।
उनीहरूले आफैँ उपचार गराउने भन्दै घटनास्थलबाट गएको प्रहरीले जनाएको छ। ट्रक चालक भने फरार छन्। उनी हालसम्म प्रहरीको सम्पर्कमा आएका छैनन्।
घटनास्थल इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब ५ किलोमिटर उत्तर–पूर्वमा पर्ने प्रहरीले जनाएको छ।



कागजपत्र |
