
प्रेस काउन्सिल सुदृढ गर्ने सरकारको योजना
काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रेसलाई संकुचन गर्ने वा नियन्त्रण गर्ने सरकारको कुनै मनसाय नरहेको स्पष्ट पार्दै प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताविरुद्ध सरकार जान नसक्ने बताए । उनले प्रेस स्वतन्त्रता स्वच्छन्दता नभएको भन्दै त्यसमा जवाफदेहिता र जिम्मेवारी पनि आवश्यक रहने उल्लेख गरे ।
मन्त्री तिमिल्सिनाले प्रेस काउन्सिलको क्षमता अभिवृद्धि गरी मिडिया क्षेत्रलाई स्वच्छ, जवाफदेही र विश्वसनीय बनाउनेतर्फ सरकार अघि बढिरहेको जानकारी दिए । सोहीअनुसार आवश्यक कार्यक्रमहरू ल्याइने उनको भनाइ छ ।
त्यसैगरी, कला, संगीत तथा चलचित्र क्षेत्रमा सुधार गर्ने र मौलिक सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यले चलचित्रलाई प्राथमिकता दिई सहुलियत दिने योजना रहेको उनले बताए ।
संसदीय पत्रकारितासम्बन्धी व्यवस्थापन सुधारका लागि पनि काम भइरहेको उल्लेख गर्दै उनले रिमोट वर्क तथा एकीकृत सूचना प्रणालीको अवधारणा अघि बढाइएको जानकारी दिए । सूचनाको हकलाई प्रभावकारी बनाउन सरकार सक्रिय रहेको पनि उनको भनाइ छ ।
मन्त्री तिमिल्सिनाले सूचना प्रविधि क्षेत्रलाई ‘टेक हब’ का रूपमा विकास गर्ने लक्ष्य राखिएको बताउँदै दुर्गम क्षेत्रमा समेत सहज इन्टरनेट पहुँच पुर्याउने काम तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए ।
उनका अनुसार हेटौडा र कोहलपुरमा नयाँ सर्भर राखेर इन्टरनेट तथा मोबाइल सेवा सुधार गर्ने काम भइरहेको छ । आगामी एक वर्षभित्र देशभर स्तरीय मोबाइल नेटवर्क र फोरजी सेवा विस्तार गर्ने सरकारको लक्ष्य रहेको उनले बताए ।
डिजिटल भुक्तानी प्रणाली विस्तार, सेवा अवरोध न्यूनीकरण तथा डिजिटल फ्रेमवर्कमार्फत सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने काम पनि अघि बढाइएको उनको भनाइ छ ।



कागजपत्र |
