
स्वास्थ्य मन्त्रालयमा स्वीकृतभन्दा ८४१ बढी कर्मचारी
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी राखिएको पाइएको छ ।
महालेखा परीक्षकको वार्षिक प्रतिवेदनअनुसार मन्त्रालयले ८ सय ४१ अतिरिक्त दरबन्दी सिर्जना गरी कर्मचारी पदपूर्ति गरेको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा मन्त्रालय तथा मातहतका सरकारी कार्यालय, बोर्ड र अस्पतालसहित ४६ निकायमा ४ हजार २७२ दरबन्दी स्वीकृत रहेको जनाइएको छ । तीमध्ये ४ हजार १८३ पदमा कर्मचारी कार्यरत छन् भने ८९ पद रिक्त रहेका छन् ।
तर स्वीकृत संरचनाभन्दा बाहिर अतिरिक्त ८४१ पद सिर्जना गरेर कर्मचारी नियुक्त गरिएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, मन्त्रालय मातहतका अस्पतालहरूले आन्तरिक स्रोतबाट तलब भुक्तानी गर्ने गरी नियुक्त गरेका कर्मचारीहरूको अभिलेखसमेत मन्त्रालयसँग नरहेको पाइएको छ ।
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७ (क) मा स्वास्थ्य सेवाका कर्मचारीको दरबन्दी तथा पदपूर्तिसम्बन्धी व्यवस्था गरिएको छ ।
महालेखा परीक्षकको कार्यालयले कानुनी व्यवस्थाअनुसार कार्यबोझ विश्लेषण गरेर आवश्यकताअनुसार मात्रै कर्मचारी व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको छ ।



कागजपत्र |
