स्वास्थ्यकर्मीलाई उचित पारिश्रमिक दिन सांसद ढकालको माग


काठमाडौं- प्रतिनिधि सभा सांसद प्रभा ढकालले मापदण्ड विपरीत सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थामाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशको स्वास्थ्य क्षेत्रमा बेथिति बढ्दै गएको भन्दै तत्काल नियमन र कारबाहीको आवश्यकता रहेको बताइन् ।

सांसद ढकालले अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीहरूलाई उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने आवश्यकता समेत औँल्याइन् । संविधानले सुनिश्चित गरेको स्वास्थ्य सम्बन्धी मौलिक हकलाई व्यवहारमा पूर्ण रूपमा लागू गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।

उनले भनिन्, “स्वास्थ्य सेवा खस्किँदै गएको छ । बिरामी र आफन्तहरू गुनासो गर्न बाध्य छन् । संविधानले सुनिश्चित गरेको स्वास्थ्यको मौलिक हक व्यवहारमा किन लागू हुन सकेको छैन ? मापदण्ड नपुगेका अस्पताल तथा स्वास्थ्य संस्थामाथि सरकारले कडा कारबाही गरोस् र स्वास्थ्यकर्मीलाई सम्मानजनक पारिश्रमिक दिइयोस् ।”

सांसद ढकालले देशको स्वास्थ्य प्रणालीप्रति सरकार उदासीन रहेको आरोपसमेत लगाइन् । उनका अनुसार सरकारी बेवास्ताका कारण स्वास्थ्य सेवा कमजोर बन्दै गएको र सर्वसाधारणले निरन्तर सास्ती भोग्नुपरेको छ ।

प्रतिक्रिया