पूर्व गृहमन्त्री गुरुङमाथिकाे छानबिन निष्पक्ष हुनुपर्ने कांग्रेसको माग


काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पूर्व गृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।

सरकारले गठन गरेको छानबिन समितिले सत्यतथ्य पत्ता लगाउनुको सट्टा गुरुङलाई सफाइ दिने प्रयास गर्न सक्ने आशंका व्यक्त गर्दै उनले समितिलाई निष्पक्ष रूपमा काम गर्न आग्रह गरेका हुन्। “समितिले निष्पक्ष छानबिन गरोस्, चोख्याउने दाउ मात्र नगरोस्,” उनले भने।

पूर्व गृहमन्त्री गुरुङ विवादित व्यापारी दीपक भट्टसँगको शेयर लगानी तथा आर्थिक सम्बन्धका कारण विवादमा तानिएका थिए। सार्वजनिक रूपमा प्रश्न उठेपछि उनीमाथि राजनीतिक र नैतिक दबाब बढ्दै गएको थियो र उनले गत ९ वैशाखमा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

तर राजीनामा दिएको तीन साता बितिसक्दा पनि सरकारले छानबिन समिति गठन नगरेको भन्दै आङ्देम्बेले प्रतिनिधिसभा बैठकमा सरकारको आलोचना गरेका थिए। उनले पूर्व गृहमन्त्रीमाथि छानबिन नगर्ने तर अरूलाई भ्रष्टाचारको आरोपमा कठोर रूपमा कारबाही गर्ने प्रवृत्ति देखिएको भन्दै सरकारको दोहोरो मापदण्डप्रति प्रश्न उठाएका थिए।

उनको अभिव्यक्तिपछि सरकारले उच्च अदालतका पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई गुरुङमाथि उठेका आरोपबारे अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

समिति गठनपछि आङ्देम्बेले यसलाई सकारात्मक कदम भने पनि यसको निष्पक्षतामै सम्पूर्ण विश्वास निर्भर रहने बताएका छन्। उनले समितिले राजनीतिक प्रभावमा नपरी सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया