
संघीय संसद्को बजेट अधिवेशन सुरु
काठमाडौं- संघीय संसद्को बजेट (बर्खे) अधिवेशन आजदेखि सुरु भएको छ ।
सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक प्रारम्भ भएको हो । आजै सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद्को संयुक्त बैठक पनि बस्दैछ ।
संसद् सचिवालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी गराइने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । साथै मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे पनि सदनलाई जानकारी गराइनेछ ।
त्यसैगरी सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावली २०७९ अन्तर्गत जारी गरिएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेश गर्ने तथा प्रतिनिधिसभा नियमावलीको मस्यौदा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सरकारले जारी गरेका आठ वटा अध्यादेश पनि प्रतिनिधिसभामा पेश गरिने संसद् सचिवालयले जनाएको छ । तीमध्ये ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत रहेका छन् ।
उक्त अध्यादेशहरू राष्ट्रियसभाको बैठकमा पनि पेश गरिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



कागजपत्र |
