
सरकारी कार्यालय र अस्पतालमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु
काठमाडौं- सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यसहित सरकारले आजदेखि देशभर ‘राष्ट्रिय सरसफाइ सप्ताह’ अभियान सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले बुधबार बिहान वीर अस्पताल पुगेर अभियानको औपचारिक शुभारम्भ गरिन् । उनले आफैँ कुचो समातेर अस्पताल परिसरको सरसफाइ गर्दै अभियानको सुरुआत गरेकी हुन् ।
अभियानको उद्घाटनपछि बोल्दै मन्त्री मेहताले सरकारी अस्पताल र सरकारी कार्यालयहरूमा सरसफाइलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताइन् । उनले अस्पताल सेवामा विगतको तुलनामा उल्लेखनीय सुधार भइरहेको दाबी गर्दै बिरामीको उपचारलाई थप प्रभावकारी बनाइएको उल्लेख गरिन् ।
“अस्पतालमा पहिलेको भन्दा धेरै सुधार भएको छ । बिरामीको उपचारलाई विशेष प्राथमिकतामा राखेका छौँ,” मन्त्री मेहताले भनिन्, “सेवा प्रवाहलाई सहज बनाउन अस्पतालमा डिजिटल प्रणालीमार्फत काम गर्ने व्यवस्था मिलाइएको छ ।”
उनले स्वास्थ्य बिमा कार्यक्रमलाई अझ सहज र प्रभावकारी बनाउन आवश्यक छलफल भइरहेको पनि जानकारी दिइन् । उनका अनुसार आजैदेखि देशभरका सबै सरकारी अस्पतालमा एकैसाथ सरसफाइ अभियान सञ्चालन गरिएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य केपी खनालले अस्पताल परिसरबाहिर प्लास्टिकजन्य फोहोर देखिएको विषय उठाउँदै सम्बन्धित निकायलाई सफाइ व्यवस्थापनमा थप जिम्मेवार बन्न आग्रह गरे । उनले आगामी दिनमा अस्पताल प्रशासनले सरसफाइलाई विशेष ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, वीर अस्पतालका निमित्त निर्देशक प्रा. डा. प्रभा कोइरालालगायतको सहभागिता रहेको थियो ।
सरकारले संघ, प्रदेश र स्थानीय तहअन्तर्गतका सबै सरकारी कार्यालयमा समेत आजदेखि सरसफाइ सप्ताह सुरु गरेको जनाएको छ । अभियान आगामी जेठ १ गतेसम्म सञ्चालन हुनेछ ।
सरकारले अभियानलाई प्रभावकारी बनाउन ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’ समेत जारी गरेको छ । सरकारी निकाय तथा शैक्षिक संस्थाहरूमा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्दै सरसफाइसम्बन्धी व्यवहार विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको सरकारले जनाएको छ ।



कागजपत्र |
