डोरीमा मोटरसाइकल अल्झिएर लडेका नेपाल प्रहरीका इन्सपेक्टरको मृत्यु


काठमाडौं – विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ। २९ चैतमा दुर्घटनामा घाइते भएका ५५ वर्षीय यादवको बिहीबार मृत्यु भएको हो।

विराटनगरमा निर्माणाधीन सडकमा गरिएको लापरबाहीका कारण विराटनगर–१३ घर भएका इन्सपेक्टर यादव दुर्घटनामा परेका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईका अनुसार को१प ६७३८ नम्बरको मोटरसाइकल विराटनगर–१३ नहर छेउस्थित निर्माणाधीन सडकमा टाँगिएको डोरीमा अल्झिएर दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते यादवको विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी राईले जानकारी दिए।

सडक कालोपत्रे गर्नलाई बाटो बन्द गर्न टाँगिएको डोरीमा अल्झिएर दुर्घटना हुँदा यादवको घाँटीमा गहिरो चोट लागेको थियो। सो सडकमा निर्माण कम्पनी भूमि कन्सट्रक्सनले काम गरिरहेको छ।

सवारी साधनको चाप अत्याधिक रहेका बेला वरपर कुनै संकेत नराखी एक्कासि कन्सट्रक्सनका कामदारले पूर्व र पश्चिममा रहेको बिजुलीको पोलमा डोरी टाँगेर बाटो बन्द गरेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।

यादव अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निलम्बनमा परेका प्रहरी अधिकृत हुन्। अख्तियारले २०७४ सालमा शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अदालतमा मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया