वैदेशिक रोजगारीको नाममा १ करोडभन्दा बढी ठगी, पाँच पक्राउ


काठमाडौं-  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–८ बस्ने सुनसरीका ३२ वर्षीय राज कुमार तामाङ, काठमाडौं महानगरपालिका–१४ बस्ने दाङका ३१ वर्षीय प्रकाश केसी, काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बस्ने काभ्रेका ३३ वर्षीय डिल्लीमान तामाङ, ललितपुर गोदावरी नगरपालिका–१४ बस्ने पाँचथरका ४७ वर्षीय श्रीहाङ एकतिन तथा भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने स्याङ्जाका २८ वर्षीय नमुना भण्डारी रहेका छन् ।

प्रहरीका अनुसार राज कुमार तामाङले जापान पठाइदिने भन्दै १ जना पीडितबाट ११ लाख ५५ हजार रुपैयाँ ठगी गरेका छन् । त्यसैगरी प्रकाश केसीले अमेरिका पठाइदिने प्रलोभनमा १२ जना पीडितबाट ९३ लाख रुपैयाँ असुलेको आरोप छ ।

यस्तै डिल्लीमान तामाङले जापान पठाइदिने भन्दै २ जनाबाट १४ लाख ७५ हजार रुपैयाँ, श्रीहाङ एकतिनले दक्षिण कोरिया पठाइदिने भन्दै १ जनाबाट १२ लाख २५ हजार रुपैयाँ तथा नमुना भण्डारीले मकाउ पठाइदिने भन्दै ३ जना पीडितबाट ५ लाख ५० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया