रोशी खोलाको बाढीले फेरि बन्द भयो बीपी राजमार्ग


सिन्धुली– रोशी खोलामा आएको बाढीका कारण सोमबार बिहानदेखि अवरुद्ध रहेको बीपी राजमार्ग दिउँसो केही समयका लागि सञ्चालनमा ल्याइए पनि पुनः बन्द गरिएको छ। सडक खुलाइएको एक घण्टा नबित्दै फेरि बन्द गरिएपछि यात्रुहरू अलपत्र परेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार काभ्रेका विभिन्न स्थानमा भीषण वर्षा भइरहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै राजमार्ग पूर्ण रूपमा बन्द गरिएको हो। प्रहरीले दिउँसो ४:१५ बजे सूचना जारी गर्दै सवारी आवागमन रोकिएको जानकारी दिएको छ। यसअघि बिहानदेखि बन्द रहेको सडक दिउँसो करिब ३ बजे खुलेको थियो।

प्रहरीले प्रतिकूल मौसमका कारण पहिरो र बाढीको जोखिम उच्च रहेको भन्दै अर्को सूचना नभएसम्मका लागि सडक बन्द गरिएको जनाएको छ। “मौसममा सुधार आएपछि र सडक सुरक्षित भएको अवस्थामा मात्रै यातायात सञ्चालन गरिनेछ,” प्रहरीको सूचनामा उल्लेख छ। आवश्यक जानकारीका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

गत वर्ष र अघिल्लो वर्ष रोशी खोलामा आएको बाढीले बीपी राजमार्गका धेरै खण्ड बगाएको थियो। सडक क्षतिग्रस्त भएपछि अहिले खोलामै अस्थायी मार्ग बनाएर सवारी सञ्चालन हुँदै आएको छ। जसका कारण सामान्य बाढी आउँदा पनि सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।

हाल सडक पुनर्निर्माणको काम जारी रहे पनि कामको गति सुस्त रहेकाले चालु वर्षायाममै पूर्ण रूपमा सञ्चालनमा आउने सम्भावना न्यून रहेको देखिन्छ।

प्रतिक्रिया