
पूर्व जानकारीबिना छापा परेकोप्रति मुख्यमन्त्री बानियाँको असन्तुष्टि, चरित्रमा असर परेको गुनासो
हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा आफ्नो निवास तथा कार्यालयमा गरिएको छानबिनमा पूर्ण सहयोग गर्ने बताएका छन्।
सोमबार जारी विज्ञप्तिमा मुख्यमन्त्री बानियाँले विभागले हेटौंडा र काठमाडौंस्थित आफ्नो घर तथा आफू संलग्न रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको स्वीकार गरेका छन्।
उनका अनुसार पदभार सम्हालेपछि उनले सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त प्रशासनलाई प्राथमिकतामा राख्दै काम गर्दै आएका छन्। बागमती प्रदेश सरकारमा खर्च कटौती, मितव्ययिता र योजना तथा बजेट प्रणालीमा पारदर्शिता कायम गर्ने नीति अघि बढाइएको उनले उल्लेख गरेका छन्।
बानियाँले राज्यका जुनसुकै निकायले गर्ने अनुसन्धानलाई सकारात्मक रूपमा लिने र संवैधानिक तथा कानुनी प्रक्रियाअन्तर्गत हुने सबै छानबिनमा आफ्नो पूर्ण सहयोग रहने स्पष्ट पारेका छन्।
तर, पूर्व जानकारीबिना गरिएको छापाप्रति उनले असन्तुष्टि जनाउँदै यसले आफ्नो व्यक्तिगत तथा सामाजिक छविमा असर परेको महसुस भएको बताएका छन्।
मुख्यमन्त्री बानियाँले नागरिक तथा समर्थकहरूलाई भ्रममा नपर्न आग्रह गर्दै आफू जनताको सेवामा निरन्तर प्रतिबद्ध रहने बताएका छन्।




कागजपत्र |
