वीरगञ्जमा चार्जमा राखिएको स्कुटी पड्किँदा एउटै परिवारका ४ जना गम्भीर घाइते


वीरगञ्ज-  घरमै चार्जमा राखिएको स्कुटरमा अचानक आगलागी हुँदा एकै परिवारका चार जना गम्भीर घाइते भएका छन्।

वीरगञ्ज महानगरपालिका–१६ नगवाका विशाल सर्राफले एक महिना अघि खरिद गरेको ‘टोनमा’ कम्पनीको इलेक्ट्रीक स्कुटर शनिबार राति चार्जमा राखिएको अवस्थामा एक्कासी पड्किँदा आगलागी भएको हो। उक्त घटनामा सर्राफसहित उनकी श्रीमती २६ वर्षीया अञ्जली सर्राफ, ६ वर्षीय छोरा कबिर सर्राफ र २ वर्षीया छोरी इशा सर्राफ गम्भीर घाइते भएका छन्।

घाइतेहरूलाई वीरगञ्जस्थित गण्डकमा रहेको बयोधा अस्पतालको आइसीयूमा भर्ना गरिएको छ भने २ वर्षीया बालिकालाई एनआईसीयूमा राखिएको छ। परिवारका सदस्यहरू गम्भीर अवस्थामा उपचाररत रहेको बताइएको छ।

सर्राफका पिता विष्णु सर्राफका अनुसार पेट्रोल खर्च घटाउने उद्देश्यले १ लाख ९० हजार रुपैयाँमा मधेस प्रदेश १४३४ नम्बरको उक्त स्कुटर वीरगञ्जको ड्राइपोर्ट चोकस्थित कुशवाह मोटर्सबाट खरिद गरिएको थियो। “चार्जमा राखेर सुतेको बेला ब्याट्री पड्किँदा आगलागी भयो,” उनले भने।

यता विक्रेता कम्पनीका कर्मचारी शौरभ श्रीवास्तवले विद्युत् फ्लक्चुएसनका कारण आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए। उनका अनुसार यस्तो घटना पहिलो पटक भएको हो र वास्तविक कारणबारे कम्पनीले अनुसन्धान गर्ने जनाएको छ। आगलागीबाट पूर्ण रूपमा नष्ट भएको स्कुटीको क्षतिपूर्ति थर्ड पार्टी इन्स्योरेन्समार्फत हुने र घरमा भएको क्षतिबारे छलफल गरिने उनले बताए।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब निरीक्षक राजु कार्कीले स्कुटीमा आगलागी हुँदा एकै परिवारका चार जना घाइते भएको पुष्टि गर्दै घटनाको कारणबारे सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीले आधिकारिक विक्रेता कुशवाह मोटर्सका सञ्चालकलाई समेत सोधपुछका लागि बोलाएको छ।

 

प्रतिक्रिया