बल्खुको सुकुम्बासी बस्तीमा पुग्यो डोजर, सामान सार्दै स्थानीय


काठमाडौं– उपत्यकाका नदी किनार तथा सार्वजनिक जग्गामा रहेका अतिक्रमित सुकुम्बासी बस्ती हटाउने सरकारी अभियान दोस्रो चरणमा प्रवेश गरेको छ। सोही क्रममा शुक्रबार बिहान बल्खु क्षेत्रमा डोजर पुगेको छ भने सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ।

स्थानीय बासिन्दा भने अझै घरटहराबाट सामान सार्न व्यस्त छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै बिहीबार साँझसम्म बस्ती खाली गर्न अल्टिमेटम दिएको थियो। उक्त सूचनापछि प्रभावित क्षेत्रका अधिकांश बासिन्दाले धमाधम सामान सार्ने काम सुरु गरेका थिए, जुन प्रक्रिया शुक्रबार बिहानसम्म पनि जारी देखिएको छ।

प्रशासनका अनुसार आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु र माछापोखरीलगायतका स्थानमा अतिक्रमित संरचना हटाउने तयारी गरिएको छ।

यसअघि पहिलो चरणअन्तर्गत सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्तीहरू खाली गरिसकिएको प्रशासनले जनाएको छ।

सरकारले नदी किनार र सार्वजनिक जग्गाको संरक्षणका लागि अभियान अघि बढाएको बताउँदै आएको छ भने प्रभावित बासिन्दाहरूले वैकल्पिक व्यवस्थाको माग गरिरहेका छन्।

प्रतिक्रिया